गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ९ गते । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणबाट एक वृद्धको मृत्यु भएको छ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बल, अस्पतालमा उपचाररत ६६ वर्षीय पुरुषको मध्यान्ह १२ बजेर १७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. प्रवीण नेपालका अनुसार भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएका कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको हो । बिरामीले साउन २७ गते नै स्वाब परीक्षण गराएका थिए । स्टार अस्पताल सानेपामा साउन २७ गते स्वाब दिएपछि २९ गते उहाँमा सङ्क्रमणको पुष्टि भएको थियो । डा. नेपालले साउन ३१ गते स्वास्थ्यमा समस्या आएपछि उहाँलाई सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा भर्ना गरिएको जानकारी दिनुभयो । स्वास्थ्य अवस्था जटिल भएपछि उहाँलाई साउन ३२ गते सघन उपचार कक्षमा भर्ना गरियो । सुधार नदेखिँदा भदौ ५ गते भेन्टिलेटरमा राखिएकोमा आज मृत्यु भएको डा. नेपालले बताउनुभयो ।
डा. नेपालका अनुसार सशस्त्र प्रहरी अस्पतालमा हाल १३ जना आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन् ।