logo
२०८१ मंसिर १२ बुधवार



काभ्रेपलाञ्चोकमा चार स्वास्थ्यकर्मीसहित १७ मा सङक्रमण

स्वास्थ्य |


काभ्रेपलाञ्चोकमा चार स्वास्थ्यकर्मीसहित १७ मा सङक्रमण



मधुसुधन तिमल्सिना
काभ्रे, भदौ ९ गते । काभ्रेपलाञ्चोक जिल्लामा चार स्वास्थ्यकर्मीसहित आज थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालका तीन र भुम्लु गाउँपालिकाको भुम्लुटार स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले आज (मङ्गलबार) थपिएका १७ सहित जिल्लामा १६२ कोरोना सङक्रमित पुगेको बताउनुभयो । उहाँका अनुसार आज थप भएमा पनौती नगरपालिकाका चार पुरुष र दुई महिला सहित छ जना, बनेपा नगरपालिकाका चार वर्षीय बालक, १२ वर्षीया बालिका, एक पुरुष र तीन महिलासहित छ जना र मण्डनदेउपुर नगरपालिकाकी एक महिलामा कोरोना पोजिटिभ देखिएको छ ।
काभ्रेमा मङ्गलबारसम्ममा ६३ जना निको भएर डिस्चार्ज भएका छन् भने ९७ जना विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
वडाको सम्पूर्ण क्षेत्र सिल
भुम्लु गाउँपालिकाको वडा नं ८ को सम्पूर्ण क्षेत्र सिल गरिएको सूचना जारी गरेको छ । गाउँपालिकाको वडा नं ८ मा एक जना कर्मचारीमा कोराना सङ्क्रमण देखिएपछि बाँकी समुदायमा समेत फैलने सक्ने सम्भावना रहेकाले गाउँपालिकाको भदौ ९ गते बसेको बैठकको निर्णय अनुसार अर्काे सूचना प्रकाशन नभएसम्म वडा नं ८ को पुरै क्षेत्र सिल गरिएको छ । भदौ ९ गते राति १२ बजेदेखि अर्काे सूचना जारी नभएसम्मको लागि पसल व्यवसायहरू नखोल्ने, सवारी साधन नचलाउन, हिँडडुल नगर्न अत्यावश्यक काम बाहेक बाहिर नजान अनुरोध गरिएको छ । यो समयमा स्वास्थ्यचाैकी तथा स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने सबै सेवाहरू बन्द भएको सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?