logo
२०८१ मंसिर १२ बुधवार



महामारीविरुद्ध एकताबद्ध प्रयासको खाँचोः मन्त्री ढकाल

स्वास्थ्य |
राष्ट्रिय |


महामारीविरुद्ध एकताबद्ध प्रयासको खाँचोः  मन्त्री ढकाल


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी विरुद्ध एकताबद्ध प्रयासको खाँचो रहेको बताउनुभएको छ । मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारको काम काम थप प्रभावकारी बनाउन शुक्रबार आयोजित छलफलमा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले काम गर्ने क्रममा केही त्यस्ता कमजोरीहरू भएको अवस्थामा त्यसलाई सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विभिन्न समयमा जारी भएका कार्यविधि वा निर्देशिकामा कमजोरी रहेको अवस्थामा समेत त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन सरकार हरदम प्रयत्नशील रहेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषयमा केही गुनासो सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोभिड–१९ विरुद्धको मोर्चामा रहनुहुनेलाई आवश्वस्त पार्दै भन्नुभयो, “यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्थाहेरी एक सय, ७५ प्रतिशत र ५० प्रतिशत भत्ता र २५ लाख रूपियाँको बीमा व्यवस्था गरिसकेको छ । असार सकिएका कारण नयाँ आर्थिक वर्षमा पहिलेका्े जस्तो व्यवस्था हुँदैन कि भनेर चिन्ता गर्नुपर्दैन ।” छलफलमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने चर्चा गर्दै स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउन अावश्यक रहेकाे बताउनुभयाे 

अध्यक्ष कार्कीले कोरोना सङ्क्रमित भएर आइसोलेसनमा रहेका चिकित्सक एवं स्वास्थ्यकर्मीको स्वास्थ्यको विषयमा मन्त्रालयको उच्च नेतृत्वले चासो लिनुपर्ने बताउनुभयो । उहाँले परिस्थिति थप जडिल बने चिकित्सक संघले स्वयंसेवक उपलब्ध गराउनका प्रयास थालेको बताउनुभयो । यस्तै, नर्सिङ एसोसिएसनका मनकुमारी राईले बीमा र भत्तामा विभेद नहोस भन्ने सुझाव दिदै काम गर्दा स्वास्थ्य सामाग्री अभाव भएको गुनासो गर्नुभयो । उहाँले चिकित्सलाई होटलमा र अन्यलाई घरमै जाउ भन्ने स्थिति नहोस भन्दै प्रभावकारी सञ्चारको व्यवस्था भएमा ५० प्रतिशत गुनासो स्वत कम हुने बताउनुभयो ।

यसैगरी, राष्ट्रिय चिकित्साकर्मी संघका भक्तिमान सुब्बाले सङ्क्रमित बसेको ठाउँमा दूव्र्यवहार भएका घटनाप्रति सरकार सचेत रहन आग्रह गर्दै महामारीको विषम परिस्थिलाई समाजले बुझिदिनु पर्ने बताउनुभयो । उहाँले पर्याप्त स्वास्थ्य सामग्री, प्रोत्साहन भत्ता, साथसहयोगमा ध्यान दिएर एकीकृत परिचालनको विषयमा अलि बढी नै ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै, स्वास्थ्य प्राविधिक संघका अध्यक्ष हरि कुँवरले आइसियु लगायतको जनशक्ति उत्पादनका लागि क्षमता अभिवृद्धिको काम गरिहाल्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै, स्वास्थ्य प्रयोगशालाकर्मी संघ (मेलान) का अध्यक्ष राजेन्द्र खड्काले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि कडा कारबाहीको माग गर्नुभयो । उहाँले स्वाब नमुना सङ्कलनमा एक हजार एक सय जनशक्ति एकैपटक परिचालन गर्न सकिने तर दिनभर नमुना सङ्कलन गरेर राति घरमा बस्नु पर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गर्नुभयो । यस्तै, उच्च माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले स्वास्थ्य मन्त्रालयको समन्वयमा यातायात व्यवस्थापनलगायत कार्यमा सहयोग तयार रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?