केशवराज पौडेल
काठमाडौँ, भदौ १४ गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ मा रहेको स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र (अस्पताल)मा १०४ जना कोरोना सङ्क्रमित भेटिएपछि जनस्वास्थ्य अधिकारी चकित भएका छन् ।
अस्पतालका चिकित्सक तथा काभ्रेका जनस्वास्थ्य अधिकारीले साँगामा रहेको सो केन्द्र र त्यस क्षेत्रका बासिन्दामा कसरी यति धेरै सङ्क्रमण भयो भन्ने विषयमा सुक्ष्म अध्ययन शुरु गरेकाे बताएका छन् । अस्पतालमा मात्र हाेइन नजिकैकाे प्रहरी चाैकी र केही स्थानीयमा पनि सङ्क्रमण देखिएकाे छ ।
अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि अस्पतालका बिरामी, कुरुवा, मेडिकल स्टाफ र अस्पतालका सबै कर्मचारीहरूको पीसीआर टेष्ट गराएको छ । अस्पताल पूरै यतिबेला आइसोसन सेन्टरको रुपमा विकास गरेर काउन्सिलिङ तथा उपचारको काममा लागेको छन् । कोरोनाबाट जोगिन आवश्यक सबै सावधानी अपनाउँदा अपनाउँदै स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा कसरी कोराना सङ्क्रमण देखापर्याे ? त्यसको मुख्य कारण पत्ता लगाउन सो केन्द्र, बनेपा नगरपालिका र स्वास्थ्य कार्यालयको टिम सुक्ष्म रुपमा लागेको बताइएकाे छ ।
स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्ला स्पाइनल इन्जुरी अस्पतालमा कोरोना सङ्क्रमणको अवस्था बारेमा बुझिरहेको बताउनुभयो ।
एक जना कर्मचारीमा कोरोना देखिएपछि स्पाइनल अस्पतालले कर्मचारी, मेडिकल टिमसँगै बिरामी र बिरामी कुरुवाको कोरोना टेष्ट गराएको थियो । सबैसँग घुलमिल हुने र बिरामी र कुरुवा एक परिवारकै सदस्यजस्तो हुने भएकाले अस्पतालले ठिमीको कोरीयामैत्री अस्पताल तथा धुलिखेल अस्पतालसँग सहकार्य गरेर अस्पतालका कर्मचारी, मेडिकल स्टाफ, बिरामी तथा उहाँहरूको कुरुवाहरूको कोरोना टेष्ट गरिसकेको छ । त्यसको रिपाेर्टमा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
असार १ गतेदेखि उपत्यका छिर्न सजिलो भएपछि साँगा आसपासको क्षेत्रमा बढेको भिडकै कारण त्यो क्षेत्रमा कोरोनाको उच्च जोखिम थियो ।
उपत्यका छिर्न अस्पतालभन्दा राजमार्गमा बढेको भीडभाडबाट कोरोना फैलिएर अस्पतालसम्म पुग्यो वा कुनै बिरामी वा कुरुवामार्फत अस्पतालमा कोरोना भित्रियाे ? याे खोजीको विषय बनेको छ । स्पाइनलका बिरामीहरूको कुरुवासमेत अनिवार्य हुने भएकाले अस्पलातका उपचाररत सबैको कोरोना टेष्ट भइरहेको अस्पतालका प्रशासन प्रमुख हरि अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, 'हामी कोराना कसरी फैलियो र यसको असर अस्पतालले कत्रो समयसम्म असर पार्छ भनेर मुख्य कारण पत्ता लगाउने कोसिसमा छौँ ।'
संवेदनशील विषयमा उपचार गर्ने भएकाले कोरोनाबाट हुनसक्ने जोखिमको विषयमा अस्पताल निक्कै सचेत बनेर लागेपनि कसरी कोरोना फैलियो भन्ने खोजीको विषय बनेको अधिकारीले बताउनुभयो । अस्पतालले एक जनामा कोरोना सङ्क्रमण देखिएपछि कोराना लुकेर बसेको छ की भनेर आफैँले खोजी गरेको विषयलाई सङ्ख्याको आधारमा आतङ्क फैलाउने काम भएको भन्दै उपचारमा संम्लग्न चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् ।
अस्पतालमा धुलिखेल, शीर मेमोरियल, टिचिङ अस्पताल, ट्रमा सेन्टरबाट बिरामी आउनुहुन्छ । अस्पताल भएकाले ताला लाग्ने कुरा पनि भएन । समुदायबाट अस्पतालमा प्रवेश गरेको विषयमा खोजी गर्नु आवश्यक रहेको अस्पतालका डा. राजु ढकाल बताउनुहुन्छ । अस्पतालको आसपासको क्षेत्रमा समेत कोराना सङ्क्रमण देखिएको छ । अस्पतालबाट पाँच सय मिटरको दुरीमा रहेको सङ्घीय प्रहरी कार्यालयमा समेत त्यसअघिनै कोरोना सङ्क्रमण पुष्टि भइसकेको थियो ।
अस्पतालबाटै समुदायमा कोराना फैलियो भनेर भइरहेको चर्चा परिचर्चाले कामको वातावरण कमजोर बन्ने भएकाले गलत हल्ला नगरी दिनुहुन सबैमा डाक्टर ढकालले अनुरोध गर्नुभयो ।
साँगाको एक फेन्सी पसल, भैँसीपाटीमा बस्ने एक भिआइपीलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । उहाँको काठमाडौँको एक अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै भैँसीपाटीका स्थानीय तथा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीमा समेत सङ्क्रमण देखिएको छ । उहाँ होम आइसोलेसनमा हुनुहुन्छ ।
अस्पतालले चैतदेखि नै गाइडलाइन बनाएर अस्पतालका कर्मचारी, मेडिकल स्टाफलाई अस्पतालकै गाडीमा ल्याउने र लाने गरिरहेकाे उहाँले बताउनुभयो । अस्पतालमा सङ्क्रमण देखिएका १०४ जनामा कोरोनाको खास लक्षण नदेखिएको डा. ढकालले भन्नुभयो । उहाँले अस्पतालमा लामो समयसम्मको उपचार हुने भएकाले सबै मिलीजुली बस्ने गरेकाले एक जनाको सङ्क्रमण धेरै जनालाई फैलिएको हुन सक्ने बताउनुभयो । अस्पतालमा हाल न्यूनतम एक महिनादेखि अधिकतम् दश महिनासम्मका बिरामीको उपचार गरिरहनुभएको छ ।