विष्णुप्रसाद पोखरेल
दमक, भदौ १५ गते । झापाको भद्रपुरमा सोमबारदेखि बेग्लै भवनमा कोभिड अस्पताल शुरु भएको छ । यसभन्दा अघि मेची अस्पतालकै भवनमा कोभिड अस्पताल शुरु गरिएकोमा यसको विरोध भएपछि नजिकै रहेको मेची अस्पतालकै नव निर्मित भवनमा सङ्क्रमितको उपचारका लागि अस्पताल शुरु भएको हो ।
एक महिनाअघिदेखि नै कोभिड अस्पताल र प्रयोगशालासमेत यहाँ सञ्चालनमा रहेको छ । अन्य सेवासँगै अस्पतालको पुरानो भवनमा सङ्क्रमितको उपचार गराउँदा यहाँ अन्य बिरामी उपचारमा आउन समस्या भएको र यसले त्रास पैदा गरेको भन्दै यसको विरोध हुँदैआएको थियो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् मेची अस्पताल सञ्चालक समिति अध्यक्ष सोम पोर्तेलका अनुसार स्थानीयको माग अनुसार नै सुविधा सम्पन्न कोभिड अस्पताल बेग्लै सञ्चालन शुरु गरिएको छ । यहाँ उपचारका लागि विशेषज्ञसहितको टोली पनि बनाएर खटाइएको उहाँले जानकारी दिनुभएको छ ।
अहिले मेची अस्पतालको पुरानो भवनमा रहेका सङ्क्रमितलाई समेत यही नयाँ व्यवस्थापन गरिएको कोभिड अस्पतालमा राखिने पनि पोर्तेलले बताउनुभयो । यहाँ ७५ जनासम्म सङ्क्रमितलाई यहाँ राख्न सकिने जनाइएको छ ।
कोभिड अस्पतालको बाहिरी सुरक्षाका लागि नेपाली सेनालाई जिम्मेवारी दिइएको जनाइएको छ ।