logo
२०८१ बैशाख १३ बिहीवार

  कोभिड तथ्याङ्कशास्त्र  



प्रदेश २ उच्च जोखिममा, आठमध्ये छ जिल्ला ‘रेड जोन’मा

स्वास्थ्य |
प्रदेश |


प्रदेश २ उच्च जोखिममा, आठमध्ये छ जिल्ला ‘रेड जोन’मा


इश्वरचन्द्र झा
काठमाडौँ, भदौ १५ गते । नेपालमा कोभिड–१९ को प्रकोप सुरु भएयता नै प्रदेश २ उच्च जोखिममा रहँदै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचकहरूले समेत प्रदेश २ उच्च जोखिममा रहेको देखाउँछ । देशको कुनै एक भाग जोखिममा हुँदा राजधानीसहित अन्य भूभागसमेत जोखिममा पर्ने निश्चित हो ।

जोखिम दर्शाउने सूचकहरू मृत्युदर, सङ्क्रमण दरले प्रदेश २ को अवस्थालाई चित्रण गरेको छ । मन्त्रालयले प्रदेश २ मा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न साउन दोस्रो साता तीन सदस्यीय टोली नै गठन गरेर स्थलगत अध्ययन प्रतिवेदन बुझाउन कार्यदेश दिएको थियो । जसबमोजिम स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह नेतृत्वको समितिले प्रतिवेदन बुझाएको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ को स्थिति सुधार गर्न आवश्यक उपाय अपनाउन सुरु गरेको छ । तर जोखिम र सूचक भने सुधार भएको देखिन्न । जनस्वास्थ्य विज्ञ भन्छन् – कमजोर स्वास्थ्य पूर्वाधार र नागरिक स्वयंको असंवेदनशीलताले प्रदेश २ को अवस्था अझै कमजोर हुने देखिन्छ ।

सूचकले के भन्छ ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश २ का आठ जिल्लामध्ये छ जिल्ला ‘रेड जोन’मा छन् । देशभर कुल रेड जोनमा रहेका जिल्लाको सङ्ख्या ११ छ । सिरहा र सप्तरी मात्रै रेड जोनबाहिर छन् । मन्त्रालयले पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लालाई रेड जोनमा राख्दै आएको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म प्रदेश २ मा आइतबारसम्ममा ९६ हजार ६५७ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । जसमध्ये पाँच हजार ११३ जनाको स्वास्थ्य प्रतिवेदन आउन बाँकी छ ।

बाँकीको ९१ हजार ५४४ जनाको परीक्षण प्रतिवेदनमध्ये प्रदेश २ मा दश हजार २२ जना सङ्क्रमित भएका छन् । देशभरि कुल सङ्क्रमितको सङ्ख्या ३८ हजार ५६१ छन् । देशभरिका कुल सङ्क्रमितको करिब २६ प्रतिशत प्रदेश २ मा छन् ।

सङ्क्रमण दरको आधारमा प्रदेश २ मा आरटी पीसीआर गरिएकाको १०.९४ प्रतिशतमा सङ्क्रमणको पुष्टि भएको छ । अर्थात प्रति एक सय व्यक्तिको परीक्षण गर्दा ११ जनामा सङ्क्रमणको पुष्टि भइरहेको छ । देशभरि सङ्क्रमण दर करिब ५.६५ प्रतिशत छ । प्रदेश २ मा दोब्बर देखिन्छ । यसले पनि प्रदेश २ मा जोखिमको अवस्थालाई दर्शाउँछ ।

देशभरि कोभिड–१९ को सङ्क्रमणले हालसम्म २२१ जनाले ज्यान गुमाएका छन्, ८६ जना प्रदेश २ का छन् । कोभिड–१९ को सङ्क्रमणबाट भएको मृत्युको करिब ३८ प्रतिशत प्रदेश २ मा रेकर्ड गरिएको छ । देशभरि कोभिड–१९ ले हुने मृत्युदर शून्य दशमलब ६० प्रतिशतको हाराहारीमा रहँदा प्रदेश २ मा मृत्युदर करिब एक प्रतिशत दर्ता गरिएको छ । यो अझै बढ्ने अनुमान गरिएको छ ।

अझै जिल्लागत् रुपमा हेर्दा सङ्क्रमणको आधारमा प्रदेश २ को महोत्तरीको अवस्था अत्यन्तै चिन्ताजनक देखिन्छ । महोत्तरीमा हालसम्म पाँच हजार ८०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २३६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । अर्थात सङ्क्रमण दर करिब २१ प्रतिशत हो । प्रति सय जनाको परीक्षण गर्दा २१ जना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जमा हालसम्म १८ हजार ५५७ जनाको परीक्षण गर्दा दुई हजार १६७ जना सङ्क्रमित फेला परेका छन् । सङ्क्रमण दर ११.६७ प्रतिशत हो ।

समस्या ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षण
प्रति एक सय जनामध्ये २१ जना महोत्तरीमा र ११ जना पर्सामा सङ्क्रमित थपिँदासमेत परीक्षणदर अत्यन्तै थोरै देखिन्छ । जसले कोभिड–१९ को सङ्क्रमण समुदाय स्तरमै फैलिएको दाबीलाई बल दिन्छ ।
प्रदेश २ मा कोभिड–१९ को जोखिम उच्च हुनुको कारण खुला सीमा, परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा लापरवाही तथा कमजोर स्वास्थ्य पूर्वाधार रहेको जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे बताउनुहुन्छ ।

प्रदेश २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तर कार्यान्वयन अत्यन्तै फितलो छ । जसले सङ्क्रमण समुदायमा अझै बढी फैलिने सम्भावना बढ्दो छ ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले निषेधाज्ञाकै बेला कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएको स्वीकार गर्नुभयो । उहाँले प्रदेश २ मातहातको सबै स्थानीय तहलाई ट्रेसिङको लागि प्रशिक्षण दिइरहेको जानकारी दिनुभयो ।

करिब ६० लाख जनसङ्ख्या रहेको प्रदेश २ मा दुई दिनअघिसम्म मात्र चार वटा पीसीआर उपकरण थियो । वर्षको सुरुवातमै प्रकोपको रुप लिइरहँदा प्रदेश २ सरकारले पीसीआर उपकरण, भेन्टिलेटरको लागि खुला गरेको टेण्डरको छिनोफानो भएन । र अझै प्रदेश सरकारमा कोभिड–१९ विरुद्ध लड्न स्पष्ट नीतिको अभाव देखिन्छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयक वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले १५ दिनभित्र प्रत्येक जिल्ला अस्पतालमा एउटा एउटा पीसीआर उपकरण राख्ने तयारी गरिएको बताउनुहुन्छ । बर्दिबास नगरपालिकाले आफ्नै स्रोत साधनले पीसीआर उपकरण खरिद गरेको छ । र स्वाब सङ्कलन सुरु गरिसकेको छ ।
जिल्ला अस्पताल, जलेश्वरमा दुई साताअघि नै भेन्टिलेटर जडान गरियो । तर जनशक्ति अभावमा एक सातासम्म उक्त वार्ड सञ्चालनमा आएन ।

सुधारका उपाय
विश्व स्वास्थ्य सङ्गठनको सामान्य मापदण्डबमोजिम एक जना सङ्क्रमित फेला पर्दा कम्तीमा ३० जनालाई परीक्षण गरिनुपर्छ । यसरी १० हजार २२ जना सङ्क्रमित फेला परेको प्रदेश २ मा हालसम्म कम्तिमा तीन लाख व्यक्तिको आरटी पीसीआर परीक्षण हुनुपर्ने हो । तर अझै एक लाख पनि परीक्षण भएको छैन । त्यसो त देशभरि नै परीक्षण दर कम देखिन्छ । सङ्क्रमित फेला परेको आधारमा परीक्षण नबढाइएको अवस्थामा सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षणको दायरामा ल्याइनु आवश्यक रहेको अर्का जनस्वास्थ्यविद् डा. शरद वन्तको सुझाव छ । तर कन्ट्याक्ट ट्रेसिङसमेत प्रभावकारी रुपमा गरिएकाे देखिएकाे छैन ।

समुदायमा कोरोनाको चेन ब्रेक गर्न कन्ट्याक्ट ट्रेसिङ गरी अलग्याउनु नै जोखिम कम गर्नुको उपाय रहेको डा. वन्त थप्नुहुन्छ । परीक्षण बढाउनका लागि आरटी पीसीआर उपकरणको सङ्ख्या जिम्मेवार हुन्छ । कोभिड–१९ को उच्च जोखिममा परेको प्रदेश २ मा पीसीआर उपकरण सीमित छ ।

हालसम्म चार वटा पीसीआर उपकरणबाट परीक्षण हुँदैआएको छ । वीरगञ्जमा दुई, सप्तरीको राजविराज र जनकपुरधाममा एक गरी चार वटा प्रयोगशाला छन् । बर्दिबासमा समेत परीक्षण सुरु गरिएको छ ।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले १५ दिनभित्र छ वटै जिल्लाको जिल्ला अस्पतालसहित निर्देशनालय र वीरगञ्जमा थप पीसीआर उपकरण जडानको तयारी गरिएको जानकारी दिनुभयो ।

“परीक्षण बढाउने, सीमा क्षेत्रमा होल्डिङ सेन्टर बनाएर क्वारेन्टिनलाई व्यवस्थित बनाउने, कन्ट्याक्ट ट्रेसिङका लागि स्थानीय तहलाई प्रभावकारी रुपमा जिम्मेवार बनाउने र कोभिड–१९ अस्पताललाई स्रोत साधन सम्पन्न बनाएपछि नियन्त्रणमा ल्याउन सकिन्छ ।” झाले बताउनुभयो । यी चार वटै कार्य सञ्चालनको लागि प्रदेशले आवश्यक पहल र काम गरिरहेको उहाँको दाबी छ ।

मृत्युदर र सङ्क्रमण दर वृद्धि हुँदै गएको देखिन्छ । यस्तो अवस्थामा सङ्घीय सरकारले अन्तर्राष्ट्रिय अभ्यास, उपचार पद्धति र विज्ञ जनशक्ति उपलब्ध गराएर सहयोग गर्ने अपेक्षा राखेको जनस्वास्थ्य प्रशासक झाले बताउनुभयो ।

उच्च स्तरीय विज्ञको टोलीले दिएको सुझावको आधारमा प्रदेश २ मा कोभिड–१९ नियन्त्रणका प्रयास सुरु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतम भन्नुहुन्छ । डा. गौतमले विज्ञ समितिको सुझावको आधारमा प्रदेश २ मा २५ जना विशेषज्ञ विज्ञलाई पठाइएको जानकारी दिनुभयो । उहाँले माग र आवश्यकताको आधारमा मन्त्रालय सहयोग गर्न तत्पर र तयार रहेको बताउनुभयो ।

जनस्वास्थ्यविद् डा. पाण्डेले झाको अपेक्षामा सहमति जनाउनुहुन्छ । स्वास्थ्य मन्त्रलायले प्रविधिको उच्चतम प्रयोग गरी प्रदेश २ को अस्पताल, चिकित्सकलाई सुझाव र सहयोग गर्नुपर्ने धारणा उहाँको हो ।

समुदायले सरकारको स्वास्थ्य प्रोटोकललाई अनिवार्य मान्नुपर्ने, मन्त्रालयले उपचार पद्धति, विज्ञ व्यवस्थापनमा सहयोग गर्नुपर्ने र अस्पतालमा सेवा दिने चिकित्सक बिरामीको उपचारमा समर्पित भए प्रदेश २ ले सङ्घर्षसहित आगामी दिनको सामना गर्ने हैसियतमा पुग्ने जनस्वास्थ्यविद् डा. पाण्डेले विश्वास व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?