दीपक श्रेष्ठ
काठमाडौँ, भदौ १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरूद्ध खोप तथा औषधिको विकास नभइसकेकाले यसबाट बच्न सावधानीबाहेक अरू विकल्प नभएको बताउनुभएको छ । मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारकाको काम थप प्रभावकारी बनाउन तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।
उहाँले प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसँग बुधबार आयोजित भर्चुअल छलफलमा कोभिड–१९ रोकथाम तथा उपचारमा भएका प्रयासहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउन समन्वयात्मक कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले जनस्वास्थ्यको मापदण्ड पालनाका लागि नागरिकमा सचेतना कार्य प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले कोभिड–१९ नियन्त्रण तथा उपचारमा देखिएका समस्या समाधानका लागि सङ्घीय सरकारले आवश्यक सबै खालका सहायोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको जोखिम भत्ता र बीमालाई कोभिड जोखिम रहेसम्म कायम रहने बताउनुभयो ।
उहाँले सरकारी प्रयोगशालामा दैनिक १८ हजार पाँच सय नमूना परीक्षण गर्न सकिने र विशेष कारणबाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवास्था मिलाइने बताउनुभयो ।
उहाँले आइसाेलेसन निर्माणका लागि सरकारले ३८ करोड रुपियाँ बजेट प्रदेश सरकारमार्फत स्थानीय तहमा पठाएको चर्चा गर्नुभयो ।
उहाँले काठमाडौँमा तीन सय शय्याको सरूवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० शय्याको अस्पताल सञ्चालनका लागि गृहकार्य भइरहेको बताउनुभयो । भर्चुअल छलफलमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णालीका दलबहादुर रावल, प्रदेश ५ का सुदर्शन बराल, गण्डकीका नरदेवी पुन र बाग्मतीका युवराज दुलाल सहभागी हुनुभएको थियो । प्रदेश १ का सामाजिक विकास मन्त्री कोरोना पोजिटिभ भएर आइसोलेसनमा रहनुभएको जनाइएको छ ।