logo
२०८० चैत्र १५ बिहीवार



प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर सङ्क्रमितको स्वास्थ्य सुधार

स्वास्थ्य |
प्रदेश |


प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर सङ्क्रमितको स्वास्थ्य सुधार


सिराज खान
नेपालगञ्ज, भदौ १८ गते । बाँकेका दुई ठूला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर अवस्थाका कोराना सङ्क्रमितको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएका छन् ।

भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा दिइएका सल्यान शारदा नगरपालिका–६ का २९ वर्षीय गम्भीर कोरोना सङ्क्रमित पुरुष र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक रेम्डिसिभिर दिइएका धनगढीका ४८ वर्षीय पुरुषको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाइएको छ ।

भेरी अस्पतालका प्लाज्मा थेरापीका सम्पर्क व्यक्ति डा. खगेन्द्रजङ्ग शाहले गत शुक्रबार भेरी अस्पतालमा भर्ना भएका सल्यानका पुरुषको अवस्था निकै गम्भीर बनेपछि उनलाई मङ्गलबार प्लाज्मा दिइएको र त्यसपछि क्रमशः उनको स्वास्थ्यमा सुधार आउँदै गएको बताउनुभयो । उहाँले प्लाज्मा दिएको तेस्रो दिनमै उनको स्वास्थ्यमा राम्रो सुधार देखिएकोले आफूहरू उत्साहित भएको बताउनुभयो । 

डा. शाहले सङ्क्रमितको स्वास्थ्य अवस्थामा व्यापक सुधार आएको जनाउँदै यस्तै अवस्था रहेमा उहाँलाई बिहीबारनै अक्सिजनबाट बाहिर निकालिने पनि बताउनुभयो ।
ती सङ्क्रमितलाई नेपालगञ्ज १ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिनुभएको थियो । बाँकेमा पहिलो प्लाज्मा दिने व्यक्ति पनि उहाँ बन्नुभएको थियो ।

चार जनालाई रेम्डिसिभिर दिइँदै, पहिलोको स्वास्थ्यमा सुधार
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना रहेका धनगढीका गम्भीर सङ्क्रमित पुरुषलाई पहिलो पटक रेम्डिसिभिर दिएपछि उहाँको स्वास्थ्य अवस्थामा पनि सुधार आएको शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका फिजिसियन डा. श्याम विकको नेतृत्वमा डा.सन्देश पण्डितसहितको टीमले पहिलो पटक सङ्क्रमितलाई मङ्गलबार रेम्डिसिभिर औषधि दिएको थियो ।
सङ्क्रमितको उपचारमा संलग्न फिजिसियन डा. विकले न्यायलयका उच्च अधिकारी ती सङ्क्रमितलाई बिहीबारसम्म आइपुग्दा रेम्डिसिभिरको पाँचौ डोज दिइएको बताउनुभयो ।
उहाँको स्वास्थ्यमा उत्साहजनक सुधार भइरहेको जनाउँदै सोही अस्पतालमा रहनुभएका अन्य गम्भीर अवस्थाका एक जना अन्य सङ्क्रमितलाई पनि रेम्डिसिभिरको दोस्रो डोज दिइएको र थप दुई जना अरुलाई पनि बिहीबार नै रेम्डिसिभिर दिइने बताउनुभयो ।
डा. विकका अनुसार गम्भीर सङ्क्रमितलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आइसीयूमा राखेर उपचार गर्दा रेम्डिसिभिर औषधि दिइने गरिएको छ ।
कोहलपुर अस्पतालले पश्चिम नेपालबाट पहिलोपटक यसकाे प्रयोग गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?