जिवछ यादव
लहान, भदौ २० गते । गोलबजार नगरपालिकाले वडा निर्देशित रकम खर्चिएर कोभिड अस्पताल निर्माण कार्य थालेको छ । नगरपालिकाको यो निर्णयबाट स्थानीयहरू खुसी भएका छन् ।
गोलबजारमा कोरोना अस्पताल निर्माणको लागि गोलबजार-८ का बासिन्दा एवम् पूर्वप्रशासक ललितबहादुर थापाले दिएको जग्गामा अस्पताल निर्माणको काम सुरु भइसकेको छ ।
नगरप्रमुख देवनाथ साहका अनुसार यस नगरपालिकाको १३ वटै वडामा प्रत्येक वडालाई वडाध्यक्षको निर्देशनमा खर्चिने सात लाखको दरले छुट्टयाएको ९१ लाख रकमलाई कोरोना अस्पताल निर्माणको लागि रकमान्तर गरेर अस्पताल निर्माण थालिएको हो ।
गोलबजार नगरपालिका-४ स्थित पूर्व पश्चिम जाने राष्ट्रिय राजमार्गसँग समेत जोडिएको मैनावती नदीको पश्चिमपट्टि एक विगहा जग्गामा अस्पताल निर्माणको कार्यको प्रारम्भ समेत भइसकको प्रमुख साहले भन्दै एक महिनामै ५० शय्याको आइसोलेसन रहने गरी निर्माण हुन लागेको बताउनुभयो ।
गोलबजार नगरपालिकाले वडा निर्देशित बजेटबाट अस्पताल निर्माणको कार्य सुरु गरेर साहसिक र प्रशंसनीय कार्य गरेको स्थानीय शिक्षक राम नारायण यादवले बताउँदै यस कार्यबाट गोलबजार नगरपालिकाका स्थानीयहरू खुसी भएको बताउनुभयो ।
सिरहामा आइसोलेसन केन्द्रको अभावमा सङ्क्रमित बिरामीहरूलाई राख्न समस्या भइरहेको अवस्थामा गोलबजार नगरपालिकाले अस्पताल निर्माणको कार्य थालेर राम्रो काम गरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनुुभयो ।
उहाँको अनुसार सदरमुकाम सिरहा, पश्चिममा मिर्चैया बीचमा गोलबजार पूर्वमाा लहान र दक्षिणी भेगमा सुखीपूरमा समेत यस्तै अस्पताल निर्माणको काम थालियो भने आइपर्ने महामारीहरूबाट जोगाउन मद्दत पुग्नेछ । यता लहान नगरपालिकाले समेत पीसीआर मेशिन खरिद र कोरोना अस्पताल निर्माणको लागि तयारी भइरहेको लहान नगरप्रमुख मुनि साहले जानकारी दिनुभयो ।