इश्वरचन्द्र झा
काठमाडौं, भदौ २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सिरो प्रिभेलेन्स’ विधि अपनाएर समुदायमा कोभिड–१९ सङ्क्रमणको अवस्थाको अध्ययन सर्वेक्षण गर्न लागेको छ । जनस्वास्थ्यविद्हरुले सङ्क्रमण समुदायमा गइसकेको दाबी गर्दै आएका छन् । तर मन्त्रालयले समुदायमा सङ्क्रमण देखिए पनि वृहत्त रुपमा नभई ‘क्लष्टर’मा मात्रै गएको जनाउँदै आएको छ ।
मन्त्रालयका अनुसार समुदायमा सङ्क्रमणको अवस्था बुझ्न काठमाडौं उपत्यकामा अनुसन्धान परिषद् र सातै प्रदेशमा सरुवा रोग नियन्त्रण महाशाखाले अध्ययन गर्दैछ । परिषद्का सदस्य सचिब डा. प्रदीप ज्ञवालीले दुई दिन भित्रै उपत्यकामा जोखिम समूहमा यस्तो अध्ययन सुरु गर्ने बताउनुभयो ।
स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने समूहलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्नेछ । डा. ज्ञवालीले भन्नुभयो, “काठमाडौं उपत्यकामा सात सय ८५ वटा नमूना सङ्कलन गरिनेछ ।” उक्त अध्ययन गर्न कम्तिमा डेढ देखि दुई महिना लाग्नेछ ।
एक्लिया विधि अपनाएर गरिने अध्ययनमा चार पटकसम्म रगतको नमूना सङ्कलन गरिनेछ । डा. ज्ञवालीले भन्नुभयो, “सुरुमा पहिलो साता स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीको नमूना लिइनेछ, दोस्रो साता परिवारका सदस्यको र तेस्रो साता पुनः स्वास्थ्यकर्मीको नमूना लिइनेछ र अन्त्यमा छैठौं साता पुनः स्वास्थ्यकर्मीको नमूना लिएर अध्ययन गरिनेछ ।”
सङ्कलित नमूनाको अध्ययनले बिगत्मा कोभिड–१९ बाट सङ्क्रमित भए नभएको पत्ता लगाउनुका साथै कसरी सङ्क्रमण फैलिएको देखाउनेछ । साथै, एकपटक कोभिड–१९ बाट सङ्क्रमित भए कति अवधिसम्म एन्टीबडीले सुरक्षित राख्ने अध्ययनबाट खुल्नेछ । यस प्रकृयामा पुनः सङ्क्रमित भएकाको नमूना समेत सङ्कलन गरिनेछ ।
उपत्यकामा सहज हुने भएपनि सातवटै प्रदेशका लागि ठूलो जनशक्ति आवश्यक पर्ने हुँदा महाशाखाले प्रदेशको स्रोत साधन र जनशक्ति समेत परिचालन गर्नेछ । सातवटै प्रदेशमा वृहत्त अध्ययनका लागि दुईदेखि तीन साता अझै तयारीमा समय लाग्ने महाशाखा प्रमुख डा. पाण्डेले बताउनुभयो । “नमूना पहिचान र सङ्कलन, विधि र आधारहरुबारे बुझाउन प्रशिक्षण सञ्चालन गर्नुपर्ने भएकोले दुई साता अझै लाग्ने देखिन्छ ।” उहाँले थप्नुभयो ।
प्रादेशिक जनसंख्या, भूगोल, निर्वाचन क्षेत्र, बसोबासको अवस्था लगायतलाई आधार मानेर नमूना सङ्कलनको संख्या निर्धारण गरिनछ ।
मन्त्रालयले कोरोना सङ्क्रमणको अवस्था बुझ्न यसअघि स्वाब सङ्कलन गर्दै आएको थियो । सङ्कलित स्वाबको पीसीआर परीक्षण गर्दा ब्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भए नभएको छुट्याइन्छ । सङ्क्रमित पुष्टि गर्न उक्त विधिले निरन्तरता पाउनेछ । तर अब भने नमूनाको रुपमा रगत सङ्कलन गरिनेछ । यसलाई ‘सिरो प्रिभेलेन्स’ भनिन्छ । उक्त विधि अपनाएर अमेरिका, अष्ट्रेलिया लगायतका राष्ट्रमा समेत सङ्क्रमणको अवस्था पत्ता लगाइएको छ ।
विदेशबाट पनि नआएका र वृद्ध तथा महिला सङ्क्रमितको संख्या वृद्धि भएपछि मन्त्रालयले करिब एक महिना अघि नै समुदायमा सङ्क्रमणको अवस्था बुझ्ने जनाएको थियो । तयारी पुरा नहुँदा निगरानी सुरु पनि गरिएको छैन् ।
संयुक्त राज्य अमेरिकामा करिब तीन साता अघि सिरो प्रिभेलेन्स सर्वेक्षण सुरु गरिएको थियो । अनुसन्धान परिषद्का सदस्य सचिब डा. ज्ञवालीले अध्ययन सर्वेक्षणबाट आउने निचोडले आगामी दिनमा समेत प्रकोप र महामारी आएको बेला सघाउने उद्देश्य राखिएको विश्वास ब्यक्त गर्नुभयो ।