केशवराज पौडेल
काठमाडौँ, असोज ७ गते । नेपालमा आवश्यक रहेको अक्सिजन ग्यासमात्रै हैन ग्यास सिलिण्डरसमेत पर्याप्त मात्रामा रहेको ग्यास उद्योगी तथा कोभिडको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
‘काठमाडौैं उपत्यकामा मात्रै ११ वटा अक्सिजन ग्यास उद्योगीहरुसँग १२ हजार सिलिण्डर ग्यास उपलब्ध छन्’ नेपाल अक्सिजन ग्यास उत्पादक संघका महासचिव नारायण तिमल्सिनाले भन्नुभयो । दैनिक १२ हजार सिलिण्डर ग्यासले जस्तोसुकै भयावह अवस्थामा समेत थेग्न सक्ने तिमल्सिनाको दाबी छ । उहाँले नेपालका प्रमुख सहर तथा अस्पतालमा अहिलेसम्म ग्यासको अभाव भएको कुनै पनि जानकारी नआएको सुनाउनुभयो ।
नेपालमा २० वटाभन्दा धेरै अक्सिजन उद्योगहरु छन् । जाडो मौसम सुरु हुँदैछ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ । अब नेपालमा एकै पटक हजारौँको संख्यामा कोरोना संक्रमित तथा अन्य रोगका बिरामीलाई अक्सिजन दिएर उपचार गर्नुपरेमा ग्यास मात्रै नभएर ग्यास भर्न आवश्यक मानिएको सिलिण्डर समेत आवश्यकता अनुसार रहेको तिमल्सिनाले बताउनुभयो । तर सरकारले भने ग्यास उद्योगीहरुसँग अक्सिजनको उपलब्धताको बारेमा जानकारीसमेत नलिएको उहाँले गुनासो गर्नुभयो ।
ग्यास उद्योगीमात्रै हैन निजी तथा सरकारी स्तरमा सञ्चालन भैरहेका अस्पतालमा आफ्नै ग्यास प्लान्ट छन् । काठमाडौँ महानगरपालिकाले समेत ठूला र सरकारी अस्पतालमा आवश्यक रहेको अक्सिजन उत्पादन गर्न प्लान्ट स्थापनाको तयारी गरिरहेको छ ।
कान्ति बाल अस्पतालका निर्देशक डा.कृष्णप्रसाद पौडेल कान्ति बाल अस्पतालमा काठमाडांै महानगरपालिकाले सहयोग गरेर अक्सिजन प्लान्ट बनाउने तयारी गरिरहेको छ । त्यसका लागि टेण्डर आह्वान भैसकेको र एक वर्षभित्रमा बन्ने बताउनुहुन्छ ।
उहाँले अस्पतालमा आवश्यक रहेको अक्सिजन तथा सिलिण्डर सहज रुपमा उपलब्ध भैरहेको बताउनुभयो । ‘अहिले मात्रै हैन विगतमा समेत ग्यासको माग अनुसार राम्रोसँग आपूर्ति भैरहेको छ’ निर्देशक डा. पौडेलले भन्नुभयो । उहाँले ग्यास उद्योगीहरुले चाहिएको समयमा ग्यास उपलब्ध गराइरहेको बताउनुभयो ।
काठमाडौँ उपत्यकामा रहेका केही अस्पतालमा ग्यास प्लान्ट भए पनि सञ्चालनमा आएका छैनन् । अस्पताललाई पुग्ने ग्यास उत्पादन हुने वीर अस्पतालमा रहेको अक्सिजन ग्यास वैशाखदेखि बिग्रिएको अहिलेसम्म बनेको छैन । करोडौँ रुपियाँ लगानी गरेर बनेको सो प्लान्ट वैशाखदेखि सञ्चालन भएको छैन ।
लकडाउनका कारणले अस्पतालमा रहेको सो प्लान्ट सञ्चालनमा नआएको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले बताउनुभयो । उहाँले अब सामान मगाएर प्लान्ट सञ्चालन गर्ने बताउनुभयो । काठमाडौंका अधिकांश ठूला सरकारी अस्पतालमा अक्सिजन ग्यास प्लान्ट भए पनि मुस्किलले वर्षको १५ दिन पनि सञ्चालन हुन सकेका छैनन् ।
स्वास्थ्य मन्त्रालयले विवरण लिन थाल्यो
कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत अस्पतालहरुमा अक्सिजनको प्रयोग तथा उपलब्धताको बारेमा जानकारी लिन थालेको बताउनुभयो । उहाँले अस्पतालमा कति अक्सिजन प्रयोग भैरहेको छ । त्यसको उपलब्धता कसरी भएको छ भनेर जानकारी लिएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले ठूला साना अस्पतालमा अक्सिजनको उपलब्धता कस्तो छ दैनिक कति लिटर प्रयोग भैरहेको छ भनेर विवरण माग्न थालेको हो ।
जनस्तरमा अक्सिजन सिलिण्डर बैंक
आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैङ्क’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समर्पणले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैङ्क’ स्थापना गरेको छ ।
हाल सो बैंकमा धेरै सङ्क्रमितहरुले फोन गर्ने गरेको उहाँहरुले आफू सङ्क्रमित भएको र अक्सिजन चाहिन सक्ने हुँदा केही सिलिण्डर माग गर्ने गरेको अध्यक्ष दीपक बंशलले बताउनुभयो ।
तर बैंकसँग धेरै सिलिण्डर नभएकाले सङ्क्रमित सबैलाई उपलब्ध गराउन नसक्ने तर आवश्यक परेका बेला बैकको हटलाइनमा कल गरेमा २४ सै घण्टा जुनसुकै बेला अक्सिजन उपलब्ध गराउने बताए पछि धेरै सङ्क्रमित ढुक्क हुने गरेको बताउनुभयो ।
बैंकले अहिले केही अति आवश्यक भएका कोराना बाहेकका अन्य केही विपन्न व्यक्तिलाई आफ्ना सदस्यहरु पठाएर उनीहरुको अबस्था बुझेर अक्सिजन उपलब्ध गराउने गरेको बताउनुभयो । उहाँले कुनै पनि व्यक्तिलाई अक्सिजन चाहिएमा कुनै पनि बेला ९८२३४४४०५५र ९८१३१८६४८४ मा सम्पर्क गर्न सक्ने बताउनुभयो ।
साथै लाइन्स क्लब अफ काठमाडौँ समर्पणले कोभिड विरामीको उपचार मा आवश्यक पर्ने प्लाज्माका लागि पन िप्लाज्मा बैंकको कन्सेप्ट अगाडि बढाएको यसको स्वीकृतिका लागि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाएको बताउनुभयो ।