दिवाकर पोख्रेल
देउखुरी, असोज १३ गते । केही समयअघि प्युठानको माण्डवी गाउँपालिक ३, आँपचौरकी ४५ वर्षीय ज्ञानीदेवी पुनको एक्कासि दुवै आँखाले देख्न छोडे । उहाँले यो समस्या झन्डै चार महिना भोग्नुभयो तर उहाँलाई अहिले आँखाको समस्या छैन । दुइवटै आँखाले देख्न सक्नुहुन्छ । यही वर्ष भदौ २१ गते दाङको लमही आँखा अस्पतालमा दुई वटै आँखाको शल्यक्रियापछि ज्ञानीदेवीको गुमेको ज्यfति फिरेको हो ।
ज्ञानीदेवी अहिले संसार देख्न पाएकोमा धेरै खुसी हुनुुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सबैभन्दा ठूलो अङ्ग भनेकै आँखा रहेछ । अँध्यारो संसार उज्यालो देख्न पाएकी छु । मेरा लागि त डाक्टर साँच्चिकै भगवान् नै बन्नुभयो ।’
यस्तै, प्युठान मल्लरानी ३, चौरपानीका मोतीराज पौडेललाई छोरा विष्णु पौडेल डोर्याएर अस्पताल पु¥याउनुभयो । आँखाको उपचारपछि उहाँ सहायता बिना नै घर फर्कनुभयो । उहाँ पनि अहिले राम्रोसँग अक्षर पढ्न सक्नुहुन्छ । हिँडडुलमा समस्या छैन । पौडेलआँखाको उपचार गर्ने डाक्टरलाई धन्यवाद दिँदै भन्नुहुन्छ, ‘डाक्टर भगवान् हुन् । उपचार भयो र त उज्यालो देखियो ।’
मगर र पौडेल जस्ता लाखाैँ आँखाका ज्योति गुमेकाहरुले आँखाको ज्योति पाएका छन् । नेपाल नेत्रज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गतका आँखा अस्पतालबाट पाँच वर्षमा झन्डै दुई लाखले आँखाको ज्योति पाएका छन् । दाङको राप्ती आँखा अस्पताल तुलसीपुर, लमही आँखा अस्पताल र छन्द (कालेबाबु) नारायणी अस्पताल कपिलवस्तु र त्यसमातहतका आँखा उपचार केन्द्रबाट विगत पाँच वर्षमा एक लाख ८० हजार नौ सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेर नयाँ ज्योति प्रदान गरिएको हो ।
आँखा स्वास्थ्य कार्यक्रम, राप्ती तथा बहादुरगञ्जका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले विगत पाँच वर्षमा २८ लाख ३८ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘झन्डै दुई लाखको मोतियाबिन्दुको अप्रेसन गरेका छाँै । २८ लाख बढीको उपचार गरेका छाँै । पछिल्लो समय आँखाको उपचार गर्न आउने सङ्ख्या बढेको छ ।’
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको आँखा स्वास्थ्य कार्यक्रम सफल उपचारपछि लमही आँखा अस्पतालबाट कानको उपचार पनि शुरु भएको छ । आँखा उपचारको लागि नेपालबाट मात्र नभएर भारतबाट उल्लेख्य रुपमा बिरामी आउने गरेका छन् । आँखा स्वास्थ्य कार्यक्रमका वरिष्ठ अधिकृत थापाका अनुसार बहादुरगञ्ज आँखा अस्पतालमा ६० प्रतिशत बिरामी भारतबाट आउने गरेका छन् ।
उपचार गर्न आउनेमध्ये पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । सचेतनाका कारण पछिल्लो समय आँखा अपचारको लागि महिलाहरु अस्पतालसम्म आउने गरेको लमही आँखा अस्पतालको नेत्रसहायक लालबहादुर चौधरीले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गतका आँखा अस्पतालमा ५७ प्रतिशत महिला आँखा चेकजाँचको लागि जाने गरेका छन् ।