logo
२०८१ मंसिर १३ बिहीवार



प्रदेश नं. २ मा ३२ जना नयाँ सङ्क्रमित थपिए, सक्रिय सङ्क्रमित घट्दै

स्वास्थ्य |
प्रदेश |


प्रदेश नं. २ मा ३२ जना नयाँ सङ्क्रमित थपिए, सक्रिय सङ्क्रमित घट्दै


प्रदेश २ ब्युरो
जनकपुरधाम, असाेज १८ गते । प्रदेश नं.२ मा आइतबार ३२ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । विगतको भन्दा सङ्क्रमण दर घटदै गएपछि प्रदेश नं. २ मा पछिल्लो समयमा आएर सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेर दुई हजार ५४९ मा झरेको छ । विगतमा पाँच हजारभन्दा माथि नै सक्रिय सङ्क्रमितको सङ्ख्या रहँदै आएकोमा निको हुनेको सङ्ख्या बढदै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या घटदै गएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज तीन महिला र २९ जना पुरुष गरी ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिनुभयो । योसँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १३ हजार ७७९ पुगेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज धनुषामा सात जना, सिरहामा छ जना, महाेतरीमा एक जना, रौतहटमा दुइ जना, पर्सामा दुई जना, बारामा चार जना र सप्तरीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । उहाँले कोरोना भाइरसका कारण प्रदेश नं. २ मा हालसम्म २२ जना महिला र ११६ जना पुरुष गरी जम्मा १३८ जनाको मृत्यु भइसकेको जानकारी गराउनुभयो ।

उहाँले गत २४ घण्टामा कोरोना भाइरसका कारण प्रदेश नं.२ मा कसैको मृत्यु नभएको बताउनुभयो । उहाँले प्रदेश नं.२ मा गत २४ घण्टामा पाँच महिला र ६३ जना पुरुष गरी ६८ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केको जानकारी गराउनुभयो । योसँगै प्रदेश नं. २ मा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या ११ हजार ९२ जना पुगेको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का वरिष्ठ चिकित्सक डा. यादवले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?