सिराज खान
नेपालगञ्ज, कात्तिक ७ गते । भेरी अस्पताल नेपालगञ्जमा रहेको पिसीआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा शुक्रबार ४१ जनामा संक्रमण देखिएको छ । शुक्रबार नै जिल्लामा ३७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । भेरी अस्पतालद्धारा शुक्रबार दिउँसो जारी गरिएको विज्ञप्तिमा पछिल्लो २४ घण्टामा बाँकेका २४ र अन्य जिल्लाका १७ जना गरेर ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
भेरीको सो प्रयोगशालामा पछिल्लो २४ घन्टामा १०३ जनाको मात्र स्वाब नमुना परीक्षण गरिएको थियो । तीमध्ये ३९ प्रतिशतमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
शुक्रबार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २४ जना, बर्दियाका ११ जना, दाङका दुई जना र कपिलवस्तु, सुर्खेत, सल्यान र डोल्पाका एक एक जना छन् ।
भेरीको पिसीआर प्रयोगशालामा हालसम्म ४५ हजार ७१३ जनाको नमुना परीक्षण गरिएकोमा तीन हजार ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
यसैबीच शुक्रबार जिल्लाका विभिन्न आइसोलेसनबाट ३७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । पछिल्लो समयमा जिल्लामा संक्रमण पुष्टि हुने र निको हुने दुबै दर वृद्धि हुँदै गएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।