केदार तिमल्सिना
बनेपा, कात्तिक १८ गते । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । धुलिखेल अस्पतालका अनुसार जिल्लाको धुलिखेल नगरपालिकाका ७९ वर्षीय पुरुषको मंगलबार दिउँसो ४ः०८ मा मृत्यु भएको हो । उहाँलाई कात्तिक १५ गते शनिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उहाँ सोही दिन उपचारका लागि अस्पतालमा भर्ना हुनुभएको अस्पतालले जनाएको छ । धुलिखेल अस्पतालले उहाँमा अन्य कुनै रोग नरहेको जनाएको छ । उहाँको शव दाहसंस्कारका लागि बुधबार बिहानै मात्रै पठाइने अस्पतालले जनाएको छ ।
यस्तै, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार मंगलबार जिल्लाको मण्डनदेउपुर नगरपालिकाकी २५ वर्षिया महिलाकाे पनि आफ्नै घरमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले हालसम्म काभ्रेमा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको जनाएको छ । जसमा चौध पुरुष र नौ जना महिला रहेका छन् ।