गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २१ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ३३८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार १५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ३३८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ५७० महिला र ७६८ पुरुष रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ९०९ सङ्क्रमित थपिएका छन् । जसमध्ये एक हजार १३३ महिला र एक हजार ७७६ पुरुष छन् । चार हजार पाँच सय जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १५ हजार एक, ललितपुरमा दुई हजार २२६ र भक्तपुरमा एक हजार २४२ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकामा हालसम्म कुल ३९७ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २६२, ललितपुरमा ६६ र भक्तपुरमा ६९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।