गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २५ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ४२० जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९६० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ४२० जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६०३ महिला र ८१७ पुरुष छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ७३६ सङ्क्रमित थपिएका छन् । जसमध्ये एक हजार ५९ महिला र एक हजार ६७७ पुरुष छन् । ८५३ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १६ हजार ६८६, ललितपुरमा दुई हजार ३५० र भक्तपुरमा एक हजार २२४ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकामा हालसम्म कुल ४२५ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २८०, ललितपुरमा ७२ र भक्तपुरमा ७३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौंमा पाँच, ललितपुरमा चार र भक्तपुरमा एक सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।