logo
२०८१ मंसिर १४ शुक्रवार



सल्यान अस्पताल तेस्रोपटक ‘सिल’   

स्वास्थ्य |


सल्यान अस्पताल तेस्रोपटक ‘सिल’   



सल्यान, कात्तिक  २९ गते । सल्यानमा सल्यान अस्पताल तेस्रोपटक सिल गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकलगायत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा शनिबारदेखि एक साताका लागि बन्द गरिएको हो ।    
    
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा कोरोना भाइरस निर्मलीकरण तथा सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना सङ्कलन गर्नुपर्ने भएकाले आपत्कालीनबाहेक सबै सेवा बन्द गरिएको स्वास्थ्य सेवा व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । सल्यानमा हालसम्म एक दर्जनभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको र उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिनुभयो ।    
    
यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि बजार पूर्णरुपमा बन्द गरिएको छ । तिहारसँगै कोरोना सङ्क्रमण फैलिने खतरा भएपछि बजार सिल गरिएको शारदा नगरपालिका–१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुयभो । श्रीनगर बजारमा व्यापारी, बैंकका कर्मचारी, शिक्षकलगायतमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष बुढाथोेकीले जानकारी दिनुभयो ।    
    
जिल्लाको वागचौर नगरपालिकाको थारमारे तथा वागचौर बजार क्षेत्र पनि शनिबारदेखि एक साताका लागि सिल गरिएको छ । स्थानीय व्यापारी तथा नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नगरपालिकका तीनवटा वडा सिल गरिएको वागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।    
    
जिल्लामा केही समय कोरोना सङ्क्रमण एकदम न्यून भएकामा केही दिनअगाडि देखि भने तीव्ररुपमा देखा पर्न थालेको छ । जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा देखिन थालेको छ । यसभन्दा पहिले कोरोना समुदायस्तरमा भने देखिएको थिएन ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?