दार्चुला समाचारदाता
दार्चुला, मङ्सिर ३ गते । दुहुँ गाउँपालिकाले बुधबारदेखि कोभिड १९ अस्थाई अस्पताल सञ्चालनमा ल्याएको छ । आवश्यक तयारी पुरा भएपछि दुहुँको हिकिला स्वास्थ्य चौकीमा अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो ।
दुहुँ गाउँपालिका–२ का वडा अध्यक्ष गोविन्द सिंह डडालको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य एंव प्रदेशको सार्वजानिक लेखा समिति सभापति नन्दा बमको प्रमुख आतिथ्यतामा अस्थाई अस्पतालको उद्घाटन गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको विशिष्ट आतिथ्य रहेको अस्पताल उद्घाटन कार्यक्रममा दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की र उपाध्यक्ष ईश्वरी जोशी लगायतको सहभागिता रहेको थियो ।
यसअघि दार्चुलाको मार्मा गाउँपालिकाले गत कात्तिक २३ गतेदेखि कोभिड १९ अस्थाई अस्पताल सञ्चालनमा ल्याइसकेको छ । भने अन्य पाँच वटा गाउँपालिकामा कोभिड १९ अस्थाई अस्पताल सञ्चालनमा आउन सकेका छैनन् ।
संघीय सरकारले दार्चुलाका सात वटा गाउँपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि दुई महिना पहिले १० लाख रुपैयाका दरले ७० लाख बजेट उपलब्ध गराएको भएपनि मार्मा र दुहुँ गाउँपालिका बाहेकका पाँच वटा गाउँपालिकाले अहिलेसम्म अस्पताल सञ्चालन गर्न सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन २०७७ अनुसार अस्पताल सञ्चालनमा ल्याउनुपर्ने व्यवस्था छ ।
मालिकार्जुन, लेकम, नौगाड, व्यास र अपिहिमाल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकेका छैनन् । हरेक स्थानीय तहलाई संघीय सरकारले आइभि स्ट्यान्ड बेड रसाइड लकरसहितको बेडका लागि ५ लाख, औषधिका लागि ५० हजार र करारमा एक जना चिकित्सक, दुई जना स्टाफ नर्स र असिस्टेन्ट एक जनाका लागि ४ लाख ५० हजार छुट्याएको मार्गदर्शनमा उल्लेख छ । तत्काल बजेट नपुगेको खण्डमा सम्बन्धित स्थानीय तहले आफैं व्यवस्था गनुपर्ने मन्त्रालयले जनाएको छ ।
चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी करारमा लिनु नपर्ने भएमा सो प्रयोजनका लागि विनियोजित बजेटबाट सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयले अस्पतालका लागि आवश्यक औजार, उपकरण खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ । तर दार्चुलाका अधिकासं स्थानीय तहले भने चिकित्सक नपाउदा कोभिड अस्थाई अस्पताल सञ्चालनमा ल्याउन नसकिएको बताएका छन् ।