मधुसुधन तिमल्सिना
काभ्रे, मङसिर ८ गते । काभ्रेपलाञ्चोक जिल्लामा थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ । बनेपाको शिरमेमोरियल अस्पतालमा उपचारका क्रममा चौँरीदेउराली गाउँपालिकाका ७० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । मङसिर ४ गते कोरोना पुष्टि भएपछि उपचारमा रहनुभएको उहाँको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । जसमा १४ जना अन्य जिल्लाका रहेका छन् ।
काभ्रेमा दैनिक कोरोना सङक्रमितको दर बढ्दो रहेको छ । आज (सोमबार) मात्र ५८ जना नयाँ सङक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार सोमबार थपिएका मध्ये बनेपा नगरपालिकाका २२ जना, पनौती नगरपालिकाका १३ जना, धुलिखेल नगरपालिकाका नौ जना, पाँचखाल नगरपालिकाका पाँच जना, नमोबुद्ध नगरपालिकाका दुई जना, तेमाल गाउँपालिकाका दुई जना, बेथानचोक गाउँपालिका तीन जना, रोसी र चौँरीदेउराली गाउँपालिकाका एक÷एक जनामा सङक्रमण पुष्टि भएको छ । जिल्लामा कुल सङक्रमितको संख्या दुई हजार ४२१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । काभ्रेमा सक्रिय सङक्रमित ४१५ जना रहेका छन् । सोमबार मात्रै ५० जना कोरोना जितेर घर फर्किएका छन । काभ्रेमा निको हुनेको संख्या एक हजार ९७१ पुगेको छ ।