शान्ति लामा
काठमाडौँ, मङ्सिर १६ गते । कुनै समय एचआइभी संक्रमण र एड्स भयंकर त्रासदीको विषय थियो । तर अहिले एड्सलाई सबैले बिर्सिएजस्तो देखिन्छ । अझ कोरोनाजस्ता तीव्र रुपमा प्रसार हुने ठूलो महामारीको समयमा त एड्स ओझेलमै परेजस्तो देखिन्छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासन मदनकुमार श्रेष्ठ एड्सजस्तो कुनै बेलाको ठूलो महामारी अहिले पनि पूर्णरुपमा नियन्त्रण भइनसकेको हुनाले यसलाई बिर्सन नहुने बताउनुहुन्छ । कोरोना महामारीको समयमा एचआइभी संक्रमण निदान गर्न ढिला गरेमा, औषधिउपचार अनियमित भएमा वा रोग लुकाएर बसेमा अरुमा सर्ने सम्भावना धेरै भएकोले सबै संवेदनशील हुनुपर्ने बताउनुहुन्छ ।
एचआइभी नियन्त्रण उल्लेख्यः मन्त्री ढकाल
डिसेम्बर १ का दिन मनाइने विश्व एड्स दिवस यस वर्ष ‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ नारासहित मनाइँदैछ ।
दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुभकामना दिनुहुँदै कोभिड १९ महामारीले एचआइभी संक्रमित र एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहलाई सेवा पहुँचमा अझ अप्ठ्यारो र चुनौती सिर्जना गरेको बताउनुभएको छ । सरकार, विभिन्न साझेदार संस्थाहरु र नागरिक समाजको सक्रियताका कारण यो विषम परिस्थितिमा पनि एआरभी औषधिको उचित र निरन्तर वितरण गरिएको उहाँको भनाइ छ ।
नेपाल सरकारको राष्ट्रिय एचआइभी रणनीीतक योजना २०१६–२०२१ का अनुसार ९० प्रतिशत एचआइभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतको औषधिउपचारमा पहुँच हुने र औषधि खानेहरुमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको लक्ष्य प्राप्तिका लागि एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिइएको मन्त्री ढकालको सन्देशमा उल्लेख छ ।
एचआइभी संक्रमितहरु लगायत उनीहरुको परिवारका सदस्यहरुलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको जानकारी दिइएको छ ।
एचआइभी संक्रमण नियन्त्रणमा नेपालको सफलता उल्लेख्य रहेको मन्त्री ढकालको भनाइ छ । ‘हाल कोभिड १९ भएजस्तै सन् १९९० को दशकमा विश्वव्यापी महामारीको रुपमा रहेको एचआइभी संक्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । विश्वले सन् २०१० देखि २०१९ सम्म एड्का कारणले हुने मृत्युदर ३९ प्रतिशतले घटाएकोमा नेपालले ८५ प्रतिशतले घटाउन सफल भएको छ । त्यसै गरी नयाँ संक्रमणको दरमा विश्वले २३ प्रतिशतले घटाउँदा नेपालले ६४ प्रतिशतले घटाउन सफल भएको छ ।’ मन्त्री ढकालको शुभकामना सन्देशमा उल्लेख छ ।
कोरोनामा पनि सहज उपचार
कोरोना महामारी नियन्त्रण गर्न सरकारले लगाएका लकडाउन तथा विभिन्न प्रतिबन्धहरुबीच पनि एड्सका बिरामीको नियमित औषधि उपचारको व्यवस्थापन गरिएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुरुको लकडाउनमा केही गाह्रो भए पनि आन्तरिक गाइडलाइन बनाएर औषधि उपचारमा केन्द्रित भएका थियौँ । गृह मन्त्रालयको अनुमति लिएर गाडीमा औषधि पठायौँ । बिरामीलाई पनि लकडाउनमा हिँडडुल गर्न झण्झट होला भनी सहयोगी संस्थाहरुका कर्मचारी तथा स्वयंसेवीमार्फत बिरामीको घरघरसम्म औषधि पुर्याइएको थियो ।’
अहिले भने सहज भइसकेको उहाँको भनाइ छ । केन्द्रका अनुसार अहिले १९ हजार ४१० जना बिरामी एचआइभी एड्सको उपचार प्रणाली एण्टी रेट्रो भाइरल थेरापी (एआरटी) कार्यक्रममा सहभागी छन् । हाल १८५ वटा अस्पतालबाट र गर्भवती महिलाको सबै अस्पतालबाट एचआइभी परीक्षण गर्न सकिने श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार आव २०७६÷७७ मा दुई हजार ४१६ जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् ।
वरिष्ठ जनस्वास्थ्य प्रशासन श्रेष्ठका अनुसार लागुपदार्थ दुव्र्यसनीमा हुने एचआइभी संक्रमण निकै कम भएको छ । सन् २०१० मा संक्रमतिमध्ये ६८ प्रतिशत लागुऔषध दुव्र्यसनी थिए भने हाल यो ६.८ प्रतिशतमा झरेको श्रेष्ठले बताउनुभयो ।
लागुऔषध दुव्र्यसनमा फसेकाहरुमा जनचेतनाका कार्यक्रम, सुरक्षित सुई निशुल्क वितरण, लागुऔषध छुटाउने औषधि तथा थेरापीका कार्यक्रमजस्ता नेपाल सरकारका प्रयासका कारण यो निकै घटेको उहाँको भनाइ छ ।
त्यस्तै एचआइभी एड्स नियन्त्रण कार्यक्रमअन्तर्गत सरकारका अन्य प्रयासहरु पनि प्रभावकारी भएको श्रेष्ठ बताउनुहुन्छ । हाल एआरटी सेन्टरहरु ८० वटा पुर्याइएको जहाँ २८ किसिमका औषधीहरु निःशुल्क वितरण गरिरहेको छ ।
केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठका अनुसार आव २०७६÷७७ मा ७३९ जना एड्सका बिरामीको मृत्यु भएको थियो । ‘अहिले मृत्युदर निकै घट्दो छ । सन् २०१० मा एचआइभी संक्रमितको मृत्युदर ८५ प्रतिशत थियो ।’ उहाँले भन्नुभयो ।
असुरक्षित यौनसम्पर्क बढी जोखिम
श्रेष्ठका अनुसार असुरक्षित यौन सम्पर्कबाट सबैभन्दा बढी ८० प्रतिशतमा एचआइभी सरेको छ । विशेष गरी आप्रवासी कामदारहरुबाट हुने संक्रमणको जोखिम अझै पनि चुनौतीको विषय रहेको उहाँको भनाइ छ ।
आव २०७६÷७७ मा १२३ जना गर्भवती महिलामा एचआइभीको नयाँ संक्रमण देखिएको केन्द्रले बताएको छ । झण्डै तीन लाख गर्भवती आमाहरुको परीक्षण गरिएको थियो । त्यस्तै यो वर्ष १७ जना नवजात शिशुहरुमा एचआइभी पोजिटिभ भेटिएको छ । नवजात शिशुमा एचआइभी संक्रमण सन् २०३० सम्ममा शून्यमा झार्ने लक्ष्य छ ।
‘गर्भवती आमाहरु समयमा नै आएर संक्रमण निदान तथा उपचार गर्न पाएको खण्डमा नवजात शिशुमा सर्ने सम्भावना हुँदैन । तर आमाहरु ढिलो आउने भएकोले उपचार गर्दागर्दै पनि शिशुमा सरेको अवस्था छ ।’ श्रेष्ठले भन्नुभयो ।
भेदभाव भने कायमै
एचआइभी एड्स प्रभावितहरुको जीवन तथा अधिकारका लागि काम गर्ने विभिन्न संघसंस्थाका अनुसार आज पनि एचआइभी एड्स प्रभावितहरुलाई समाजमा भेदभाव गर्ने प्रवृत्ति हटेको छैन । ‘समाजमा घुलमिल हुँदैमा, सँगै बसेर कुराकानी गर्दा, खाँदा सर्दैन । त्यसकारण समाजमा भेदभाव नगर्न अनुरोध गर्दछु,’ श्रेष्ठले भन्नुभयो, ‘भेदभावले गर्दा रोगीहरु रोग लुकाएर बस्ने, उपचारका लागि नजाने, उपचारमा ढिलो गरी जाने जस्ता समस्या हुने हुनाले त्यसबाट झन सर्ने सम्भावना धेरै हुन्छ । उपचार गरे भाइरस लोड कम भई सर्ने सम्भावना कम हुने हुन्छ र संक्रमित पनि अरु मानिससरह सहज जीवन बिताउन सक्छन् ।