logo
२०८२ भाद्र १० मंगलवार



नरैनापुरमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनमा

स्वास्थ्य |


नरैनापुरमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनमा
नरैनापुरस्थित कोभिड १९ अस्पताल उदघाटन समारोह । तस्विर -सिराज खान । नेपालगञ्ज


सिराज खान
नेपालगञ्ज, मङ्सिर १६ गते । बाँकेको अति पिछडिएको र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर गाउँपालिकामा पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।
गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहित पाँच शैयाको अस्पताल सञ्चालनमा आएको हो । संघीय सरकारले भदौ २३ गते हरेक स्थानीय तहलाई कम्तीमा पाँच शैयाको अस्पताल सञ्चालन गर्न गरेको परिपत्र अनुसार उक्र कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
अस्पताल सञ्चालनका लागि पहिलो चरणमा संघीय सरकारले १० लाख रुपियाँ पठाएको थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सो कोभिड अस्थायी अस्पतालको संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य नमुनाले पाँच शैयाको अस्पताल सञ्चालनमा आएसँगै संक्रमितलाई उपचारार्थ नेपालगञ्ज लैजानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
प्रारम्भिक चरणमा कोभिडको सर्वाधिक मारमा परेको नरैनापुरमा पछिल्लो समय संक्रमित नभेटिनु सुखद् भए पनि तयारी अवस्थामा रहन जरुरी रहेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष शाहले स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुरलाई अघि बढाउन आफू लागिपरेको बताउँदै तन, मन र बचनले इमान्दारपूर्वक जनताको सेवामा खट्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कोभिड अस्पताल सञ्चालन भएपछि अब उपचार सहज हुने बताउनुभयो । उहाँले हालसम्म नरैनापुरमा १२५ जना संक्रमित भएकोमा एक जनाको मृत्यु भएको, १२३ जना निको भएर डिष्चार्ज भइसकेको तथा एक जना उपचारका क्रममा रहेको बताउनुभयो ।
स्वास्थ्य सेवाका पहँुचबाट टाढै रहेको सो गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीय उत्साहित देखिएका छन् ।
नरैनापुर २ का देवेन्द्र मौर्यले स्वास्थ्य सेवाबाट बञ्चित रहँदै आएका नरैनापुरका वासिन्दाका लागि कोभिड अस्पताल सञ्चालनमा आएपछि निकै खुशी लागेको बताउनुभयो ।
उहाँले नरैनापुरमा सडक र विद्युत पुगेपछि अब विस्तारै सबै प्रकारका सेवा सुविधाहरु पनि पुग्न थालेकोमा पिछिडिएको क्षेत्रको काँचुली फेरिने विश्वास बढेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?