महोत्तरी समाचारदाता
जलेश्वर, पुस ६ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मोतिबिन्दुका रोगीहरुको लागि शल्यक्रिया कक्ष भवनको उद्घाटन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको आँखा तथा कान उपचार केन्द्र जलेश्वरमा लामो समयदेखिको गृहकार्यपश्चात् आँखा रोगीहरुको लागि अपरेशन गर्न शल्यक्रिया कक्ष शुभारम्भ गरिएको हो ।
जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशंकर मिश्रले एक समारोहका बीच शल्यक्रिया कक्षको उदघाटन गर्नुका साथै आजदेखि नै शल्यक्रिया समेत शुरु गरिएको आँखा तथा कान उपचार केन्द्र जलेश्वरका डा.बिरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
उदघाटन कार्यक्रममा नगरप्रमुख रामशंकर मिश्रले यसअघि मोतिविन्दुका रोगीहरुलाई शल्यक्रियाको लागि जनकपुर, लहान तथा विभिन्न ठाउँहरुमा पुग्नुपर्ने वाध्यता योसंगै अन्त्य भएको बताउनुहुँदै यसलाई थप प्रभावकारी बनाउन आफु हरसम्भव सहयोग गर्ने आश्वासन समेत दिनुभएको थियो ।
नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहान तथा आँखा तथा कान उपचार केन्द्र जलेश्वरको संयुक्त तत्वाधानमा जिल्लाको विभिन्न ठाउँमा सञ्चालित आँखा शिविरबाट मोतिबिन्दु रहेका रोगीहरुको शल्यक्रिया शुभारम्भ गरिएको छ । जिल्लाको पिपरा गाउँपालिका र सोनमा गाउँपालिकामा गरिएको निशुल्क आँखा जाँच शिविरमा सहभागी भएका ५७७ रोगीहरु मध्ये २३३ जनामा मोतिविन्दु फेला परेको जानकारी दिनुहुदै आँखा तथा कान उपचार केन्द्रका चिकित्सक डा.बिरेन्द्रकुमार यादवले ति बिरामीहरुलाई यही शल्यक्रिया गरिने जानकारी दिनुभयो ।
पहिलो दिन कम्तीमा ३० जना मोतिविन्दु रोगीको शल्यक्रिया गरिने लक्ष्य राखिएको बताउनुहुँदै उहाँले सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा.संजयकुमार सिंहले शल्यक्रिया गरिरहनुभएको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी महोत्तरीका सभापति दीपक मिश्रले डयाक फाउण्डेशनको सहयोगमा निःशुल्क शल्यक्रिया शुरु गरिएको जानकारी दिनुहुदै जलेश्वरमा शल्यक्रिया कक्ष स्थापना भएपछि आँखाका रोगीहरुलाई बाहिर जानुपर्ने बाध्यता केही हदसम्म टरेको बताउनुभयो ।
यो मोतिविन्दु रोगीहरुको शल्यक्रिया सम्पन्न भइसकेपछि हरेक महिनाको दोश्रो सोमबार तथा अन्तिम सोमबार गरी महिनामा दुई चोटी सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा शल्यक्रिया गरिने जानकारी दिनुहुदै शल्यक्रिया गर्ने जनशक्ति भएपछि सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।