केशवराज पौडेल
काठमाडौं, पुस ९ गते । कोरोना बीमा गरेर संक्रमित भएकाहरुले आवश्यक कागजपत्र पेश गरेसँगै भुक्तान पाउन थालेका छन् । बीमा समितिका अनुसार पुस ७ गतेसम्ममा आवश्यक कागजपत्र पूरा गर्ने १४ हजार १८४ जनालाई बीमाको भुक्तानी गरिएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिनुभयो ।
‘कोरोना बीमा’ बापत एक अर्ब ३८ करोड ४८ लाख ७५ हजार रकम संक्रमितले पाएको पौडेलले बताउनुभयो । नेपालमा रहेका अजोड, एभरेष्ट, जनरल, हिमालयन, आइएमई जनरल, लुम्बिनी, नेसनल, नेको, नेपाल, एनएलजी, ओरियन्टल, प्रभु, प्रिमियर, प्रुडेन्सियल, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा, सानिमा, शिखर, सिद्धार्थ र युनाइटेड इन्स्योरेन्समा १७ लाख १२ हजार ४७० जनाले एक लाख रुपियाँ पाउने गरी कोरोना बीमा गराएका थिए ।
त्योमध्ये गराउनेमध्ये संख्या १४ हजार १८४ लाई कोरोना संक्रमण भएको र सोही अनुसार सम्पूर्ण कागजपत्र पुरा गरेर भुक्तानी रकम लिएका हुन् । नेपालमा दोस्रो पोलिसीमा बीमा गराउनेको संख्या तीन लाख ८० हजार रहेको पौडेलले जानकारी दिनुभयो । ‘प्रक्रिया पूरा गरेर आउनु भएका कसैको पनि रकम भुक्तानी रोकिएको छैन’ उहाँले भन्नुभयो ।
कोरोना संक्रमित भएसँगै बीमा गराएका २६ हजार ५९७ जनाले कागजपत्र बीमा समितिमा पेश गरेका छन् । त्योमध्ये १४ हजार १४८ जनाले कोरोना बीमा वापतको रकमको भुक्तानी पाएका छन् । त्यस्तै दुई हजार ५२१ जनाको कागजपत्र अन्तिम रकम पाउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । अहिले तीन हजार १११ जना कोरोनाको बीमाको कागजपत्र प्रक्रिया पूरा गर्ने सिलसिलामा रोकिएको उहाँले बताउनुभयो । कागजपत्र मिलाएर बीमा समितिमा पठाउने तयारी गरेको पौडेलले जानकारी दिनुभयो ।
शेखर इन्स्योरेन्सका सुरज राजबाहकका अनुसार बीमा कम्पनीहरुले प्रकृया पुरा गरेसँगै भुक्तानी सहजै रुपमा पाउनुभएको बताउनुभयो । बीमा कम्पनीहरुले प्रकृया पूरा गरेर आउनु भएका एक हजार ८९२ जनाको कागजपत्र नमिलेर बीमा कम्पनीमै फिर्ता गरेको उहाँले बताउनुभयो ।
एक हजार ५५० जनाको प्रकृया पुरा भएर स्वीकृतका लागि बीमा समितिमा पठाइएको र एक हजार ८९२ जनाको फाइल इन्स्योरेन्स कम्पनीलाई पठाइएको बीमा समितिले जनाएको छ । ७२ जनाले नक्कली कागजपत्र पेश गरेकाले उहाँहरुको बीमा दाबी भुक्तानी नभएको हो । बीमा कम्पनीहरुमा कोरोना संक्रमितहरु दाबी गरेको र तीन हजार २६७ जनाको प्रकृयामा रहेको कम्पनीले जनाएको छ ।