अमृतप्रसाद पौडेल
बेनी, चैत १९ गते । हिमालपारीको जिल्ला मुस्ताङमाको एक मात्र जिल्ला अस्पताल मुस्ताङले १५ शैयाको अनुमति पाएपछि पाउनु पर्ने एमडिजिपि डाक्टर अहिलेसम्म पाउन सकेको छैन । जिल्ला अस्पतालमा नवौं तहको मेडिकल सुपरीटेण्डेन्ट (एमडी) डाक्टर दरबन्दी रहे पनि उक्त अस्पतालले त्यो स्तरको डाक्टर देख्नै पाएको छैन ।
नेपालको संविधानको धारा ३५ को १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलार्य पनि आकस्मिक सेवाबाट बञ्चि गरिने छैन भनिएको छ । संविधानमा व्यवस्था भएको भए पनि राज्यको तर्फबाट हुन पर्ने जिल्ला अस्पतालमै तोकिएको दरबन्दी कहिल्यै परिपूर्ति नहुनु पक्कै दुर्भाग्य हो ।
नवौँ तहको डाक्टर नहुँदा अस्पतालले दिने सेवा सुविधा तथा नियमित कार्यसम्पादनमा समेत सँधै समस्या हुने गरेको छ । मुस्ताङ जिल्ला अस्पतालमा नवौँ तहको (एमडी) डाक्टरसहित १८ जना स्वास्थ्य जनशक्तिको स्थायी दरबन्दी छ । तर अस्पतालको स्थापनाकालदेखि नै नवौं तहको डाक्टर दरबन्दी खाली छ । हालको अवस्थामा पनि १८ दरबन्दी मध्य नौ जनाको दरवन्दी खाली रहेको छ ।
जिल्ला अस्पताल जोमसोमका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. शिव भण्डारीका अनुसार जिल्ला अस्पतालमा १ जना एमडिजिपि डाक्टर मेसु, दुई जना अनमी, दुई जना अहेब सहित नौ जनाको सरकारी दरबन्दी खाली छ । गण्डकी प्रदेश सरकारबाट करारका केही कर्मचारी पठाइदिएकोले हाल कामचलाउन सकिएको भए पनि सरकारी दरवन्दीका कर्मचारी नहुँदा सेवा सुविधामा समस्या हुने डाक्टर भण्डारीको भनाइ छ ।
चिसो जिल्लाको रुमा पनि चिनिने मुस्ताङको सदरमुकाममा रहेको अस्पतालमा दैनिक सरदर ४० जना नेपाली बिरामी उपचारका लागि आउने डा. भण्डारी बताउनुहुन्छ । त्यस्तै मुस्ताङ भ्रमणका लागि आउने बिदेशीहरु हाइअल्टिच्युटको समस्या लिएर सरदर दैनिक १० जनाका दरले आउने निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर भण्डारीको भनाइ छ ।
जिल्ला अस्पताल मुस्ताङका निमित्त मेसु भण्डारीका अनुसार देशभरमा हाल एकहजार नौसय डाक्टरको दरवन्दी भए पनि एकहजार चारसय मात्र कार्यरत रहेको हुँदा मुस्ताङमा मात्र नभएर देशैभर नै समस्या छ । डाक्टर भण्डारी भन्नुहुन्छ –‘देशभरमा पाँच सय डाक्टर दरबन्दी रिक्त हुँदा सबै तिर समस्या भएको भए पनि मुस्ताङमा स्थापनाकालदेखि नै मेसु आइनपुग्नु मुस्ताङका लागि चिन्ताको विषय भने पक्कै हो ।’
मुस्ताङको जोमसोममा २०२९ सालमा स्वास्थ्य केन्द्रका रुपमा स्थापना भै २०३१ सालमा १५ शैयाको अस्पतालमा स्तरोन्नती भएको भएकोमा स्थापना काल देखि नै कार्यालय प्रमुख आउन नसकेको मुस्ताङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङ भन्नुहुन्छ– ‘उपलब्ध जनशक्तिबाट जति सक्यो राम्रो सुविधा दिने प्रयास भएको भए पनि तोकिएको जनशक्ति नहुँदा समस्या हुने भने रहेछ ।’
संघीयता अघि संघीय स्वास्थ्य मन्त्रालय र संघीयता कार्यान्वयनपछि प्रदेशको सामाजिक विकास मन्त्रालयको मातहत रहेको जिल्ला अस्पताल मुस्ताङमा मेसुको पद पदपूर्ति हुन नसकेको हो ।
मुस्ताङ जिल्ला अस्पतालमा नवौं तहको डाक्टरले गर्ने सबै काम आठौं तहका एमबिबिएस डाक्टरले गर्दै आइरहेका छन् । अस्पतालका अनुसार अहिले नेपाल सरकारबाट छात्रवृति प्राप्त अन्य करारमा खटाइएका डाक्टर छन् । पर्यटकीय क्षेत्र मुस्ताङमा स्वदेशी तथा बिदेशी पर्यटकहरुको भीड लाग्ने भए पनि दक्ष मेडिकल जनशक्ति नहुँदा भने निकै सास्ती हुने गरेको स्थानीयको भनाइ छ ।