logo
२०८२ भाद्र १९ बिहीवार



स्वास्थ्य एकाइको उदाहरणीय अभ्यासः उपचारका लागि पैसा सापटी

स्वास्थ्य |


स्वास्थ्य एकाइको उदाहरणीय अभ्यासः उपचारका लागि पैसा सापटी


नवीन शिशिर विक
बागलुङ, चैत २३ गते । बागलुङको एक स्वास्थ्य एकाइ जहाँ बिरामीले उपचार मात्र होइन, विना ब्याज सापटी रकम पाउने गरेका छन् । काठेखोला गाउँपालिका–३ धम्जा स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइले स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका बिरामीलाई अन्यत्र अस्पताल पठाउँदा बिरामीलाई बीस हजार रुपियाँसम्म विना ब्याज रकम उपलब्ध गराउन थालेको हो ।
रकम अभावले कोही पनि स्थानीय बिरामी उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य एकाइमा १२ लाख रुपियाँको कोष स्थापना गरिएको छ । पैसा नभएको बिरामी रोग पालेर घर बस्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य इकाईले सहजीकरण गरेको स्वास्थ्य एकाइ प्रमुख लोकबहादुर भण्डारीको भनाइ छ ।
देउसीभैलो खेलेर तथा स्थानीय चन्दादातासँग रकम माग गरेर कोष निर्माण गरिएको हो । बिरामीलाई ऋणको अतिरिक्त स्वास्थ्य एकाइले बाटो खर्च बापत एक हजार रुपियाँ बिरामीलाई अनुदान दिने गरेको छ ।
‘सबैको प्रयासले स्वास्थ्य सेवा सुलभ र विश्वासिलो हुन्छ’ एकाइ प्रमुख भण्डारीले भन्नुभयो–‘हुने खानेको सहयोगले हुँदा खानेको उद्धारमा सहयोग गरेका छौँ ।’ ऋण बापत प्राप्त गर्ने रकम बिरामी उपचार पश्चात एक महिनाभित्र बिना ब्याज फिर्ता गर्नुपर्छ ।
धम्जामा एक स्वास्थ्य चौकी र एक सामुदायिक स्वास्थ्य एकाइ छ । सायकटेरामा गण्डकी प्रदेश सरकारको एक करोड ५० लाख रुपियाँ लागतमा स्वास्थ्य एकाइको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । उक्त भवनमा थप ८५ लाख रुपियाँ लागतमा दुई सय क्षमताको सभा हल र कर्मचारी आवास गृह निर्माणाधीन अवस्थामा छ ।
काठेखोला गाउँपालिकाको व्यवस्थापन र स्वास्थ्य सेवा विभागको स्वीकृतिमा २०७५ साल भाद्र १९ गतेदेखि स्वास्थ्य एकाइ भाडाको घरबाट सञ्चालित थियो । नवनिर्मित भवनमा बिरामी जाँच्ने कोठा, प्रशासन कोठा, भण्डार कोठा, सुरक्षित मातृत्व कोठा, औषधि वितरण कोठा, सामान पकाउने कोठा, बैठक तथा तालिम कोठा, सुत्केरी गराउने कोठा सहित २ वडा प्यान ट्वाईलेट र २ वटा कमोड ट्वाईलेट, पानी टंकी, पानी तताउने सोलार जडान गरिएको छ ।
स्वास्थ्य एकाइमा सेन्सर धारा,सेन्सर सप डिस्पेन्सर, चिसो हात सुकाउन हात थाप्दा आफै तातो हावा फाल्ने सेन्सर ह्याण्ड ड्रायर जडान गरिएको स्वास्थ्य एकाइ प्रमुख भण्डारीको भनाइ छ । सबै प्रविधि संस्थाकोे आन्तरिक बजेटबाट व्यवस्थापन गरी जडान गरिएको हो ।
स्वास्थ्य एकाइले निःशुल्क गर्भ परीक्षणको सेवा सञ्चालनमा ल्याएको छ । प्रोटोकल अनुसार गर्भ जाँच गराउन आउने गर्भवतीलाई काठेखोला गाउँपालिकाको सहयोगमा हरेक पटकमा एक प्याकेट आयोडिनयुक्त नुन र एक क्रेट अण्डाका दरले चार प्याकेट आयोडिनयुक्त नुन र चार क्रेट अण्डा उपहार स्वरुप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
एकाइमा कडा प्रकृतिका रोग मुटु, मृगौला, मेरुदण्ड, टाउको, क्यान्सर जस्ता रोगले ग्रस्त विपन्न वर्गका ५० वर्षभन्दा तलका उमेर समुहका बिरामीलाई प्रतिव्यक्ति पाँच हजार रुपियाँ राहत दिने गरिएको छ । परिवार नियोजनको अस्थायी साधन इम्प्लाण्ट लगाउने महिलालाई प्रोत्साहन बापत जनही दुई सय रुपियाँ दिने गरेको भण्डारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?