logo
२०८० चैत्र १५ बिहीवार



युके भेरियन्टकाे संक्रमण बालबालिकामा बढी, खेलवाड नगराैं : विज्ञ

स्वास्थ्य |
पढ्नै पर्ने |
राष्ट्रिय |


युके भेरियन्टकाे संक्रमण बालबालिकामा बढी, खेलवाड नगराैं : विज्ञ


मुकुन्द गैरे
काठमाडौँ, वैशाख ३ गते । जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना नगरे कोरोना संक्रमणको भयावह अवस्था आउन सक्ने भन्दै जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. शेरबहादुर पुन दोस्रो चरणमा देखा परेको कोराना संक्रमण पहिलाको तुलनामा बढी सर्ने खालको रहेको बताउनुहुन्छ ।

यो युके (बेलायती) भेरियन्ट भाइरसले साना बालबालिकालाई आक्रमण गरेकाले जनस्वास्थ्यका मापदण्ड पालना नगरी खेलवाड गरे गम्भीर समस्या आउने खतरा रहेको उहाँ बताउनुहुन्छ ।अहिले देखा परेको संक्रमणले बालबच्चालाई असर गरेको बताउँदै उहाँले बालबालिका हस्पिटल भर्ना हुनेको बृद्वि देखिएको बताउनुभयो ।

अहिले देखापरेको भाइरस उमेर सिफ्ट गरेको र फरक खालको भाइरस भएकाले पहिलाको तुलनामा बढी सावधानी हुनुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।अहिलको भारइरसबाट बालबच्चा जोगाउन गम्भिर भएर बेलैमा सोच्ने अवस्था आएको र यस्तै अवस्थामा भीडभाड राखेर पढ्न पढाउन लगायत अन्य गतिविधि यथावत राखे अवस्था जटिल आउने सरुवा रोग विशेषज्ञ डा. पुनको भनाइ छ ।

विदेशबाट आउने मानिसलाई अनिवार्य कडाइका साथ क्वारेन्टाइनमा बस्ने व्यवस्थालगायत नेपाल भारतको खुला सिमानाबाट आउनेको हकमा पनि निगरानीका साथ व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।आम मानिसले आफ्ना दैनिक गतिविधि गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरे मात्र जोगिने एक मात्र उपाय भएको उहाँ बताउनुहुन्छ ।

पछिल्लो स–साना बालकालिकालाई कोरोना संक्रमणको जोखिममा परेको बताउँदै विद्यालयमा स्वास्थ्य मापदण्ड पालना नगरे ठूलो संकट आउने बताउनुहुन्छ जनस्वास्थ्य विद् डा. शरद वन्त । विद्यालयमा पढ्न र पढाउन सामाजिक दुरी कायम गरी मास्क अनिवार्य प्रयोग र जोर बिजोर अथवा सिप्mट गरेर पढाउन आवश्यक हुने उहाँको भनाइ छ ।

कोरोना संक्रमणको जोखिम नै नभएको हो कि भन्ने गरी बढ्न थालेको गतिविधिका कारणले कोरोना संक्रमणदर बढ्नुको प्रमुख कारण रहेको उहाँ बताउनुहुन्छ ।अहिले कुनै ठाउँमा पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेको पाइएन अब खतराको अवस्था आएको डा. वन्त बताउनुहुन्छ ।

जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा कोरोना संक्रमणको जोखिम बल्ल आएको बताउनुभयो । नागरिकका पछिल्ला गतिविधिमा स्वास्थ्य मापदण्डलाई राम्ररी पालना नगरेको देखिएकाले नेपालमा कोरोनाको महामारी पुनः दोहोरिन सक्ने खतरा रहेको उहाँ चेतावनी दिनुहुन्छ ।

यस्तै, जनस्वास्थ्य मापदण्डमा लापरवाही गरे पहिलो चरणमा देखा परेको भन्दा बढी संख्या देखिने खतरा त्यतिकै रहेको उहाँ बताउनुहुन्छ । नेपालको खानपिन र हावापानी वातावरणले कोरोना लाग्दैन भन्ने केही मानिसमा भ्रम देखा परेको सुन्नमा आउँछ त्यस्तो भ्रम र खेलवाडमा नलाग्न उहाँको आग्रह छ ।

पछिल्लो समय राजनीतिक गतिविधि लगायत अन्य औपचारिक वा अनौपचारिक रुपमा गरिएका कार्यक्रमका कारण संक्रमण बढ्न गएको उहाँको आंकलन छ । दोस्रो प्रकारको भाइरस पहिलाको भन्दा अलि असर गर्ने र छिटो फैलिने खालको रहेको सरुवा रोग विशेषज्ञ डा. वन्त बताउनुहुन्छ ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा वर्गिकरण गरेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङका जिल्लामा भीडभाड नगर्न एवम् दोस्रो चरणको कोरोना सङ्क्रमणबाट संवेदनशील बन्न सरकारले आग्रह गरेको हो । मन्त्रालयले ती जिल्लाहरूमा मानिसहरू धेरे जम्मा हुने स्थान विद्यालय, रात्री क्लब, रेस्टुरेन्ट, जात्रा मेला पर्वमा नजान आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक महिना अघि फेला परेको कुल सङ्क्रमितमध्ये ३० बर्षभन्दा कम उमेर समूहका सङ्क्रमित २९ प्रतिशत रहेकोमा अहिले ३५ प्रतिशत पुगेको छ । चैत १० गते सबभन्दा उच्च २० बर्षमुनिका ४० प्रतिशत र ३० बर्ष मुनिका ६० प्रतिशत पुगेको थियो ।

हेर र पर्खको अवस्थामा महानगर

विद्यालय बन्द गर्ने वा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न दिने भन्ने विषयमा काठमाडौं महानगरपालिका हेर र पर्खको अवस्थामा रहेको छ । अहिले विद्यालय बन्द गर्ने वा खुला गर्न दिने भन्ने विषयमा सरोकारवाला निकाय अभिभावक सँग छलफल भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउनुहुन्छ ।

अहिले कोरोना संक्रमण देखिएका विद्यालयमा एक हप्ता बन्द गराएर अनलाइनबाट पठाउन निर्देशन दिएका छौ भोली दिनमा अझै बढेमा अर्को निर्णय आउने उहाँ बताउनुहुन्छ । पढन पाढन गर्दा जनस्वास्थ्यका मापदण्डलाई पनि कसरी व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकिन्छ भनेर आफूहरु छलफल गरिरहेकोले यस विषयमा छिटटै निर्णयमा पुग्ने प्रवक्ता डंगोलले बताउनुभयो ।

बालबालिकाको बिषयमा संवेदनशील छौंः प्याब्सन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी विद्यार्थीको विषयमा आफूहरु संवेदनशिल भएको बताउनुहुन्छ । शिक्षा मन्त्रालयको निर्णय कुरेर बसेको बताउँदै उहाँले त्यसै अनुसार पढाई सञ्चालन गर्ने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । कोरोना संक्रमण बढदै गए अनलाइन वा वैकल्पिक माध्यमबाट पढन पाढन गरिने उहाँले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप