गोकर्ण दयाल
बैतडी, वैशाख ६ गते । कोरोना परीक्षण गर्न झुलाघाटमा स्थापना गरिएको स्वास्थ्य केन्द्रमा कार्यरत पाँचजना स्वास्थ्यकर्मी १२ घण्टा काम गरेर बास खोज्न भारततर्फ जाने वाध्य भएका छन् ।
भाडाको दुई कोठे घरमा सञ्चालित स्वास्थ्य केन्द्रमा न खाने, बस्ने व्यवस्था, न त शौचालय नै छ । दिनभरि कोरोनाविरुद्धको लडाईंमा खटिनुहुने स्वास्थ्यकर्मी रात परेपछि भारतीय बजारमा डेरा लिएर बस्नु पर्ने वाध्यता रहेको छ ।
भारतीय सुरक्षाकर्मीले सिठी फुक्दै झुलाघाट पुलको गेट खुलेपछि नेपाल फर्केर स्वास्थ्य केन्द्रमा काम गर्दै आईरहेका केन्द्रका ईन्चार्ज धर्म विकले बताउनुभयो । बेलुकीपख गेट बन्द हुनुअघि नै भारततिर जानु पर्ने उहाँले बताउनुभयो ।
भारतमा कोरोनाको दोश्रो कहर फैलिएसँगै नेपाल–भारत जोड्ने झुलाघाट नाकामा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मी खटाइए पनि भौतिक संरचना नहुँदा स्वास्थ्यकर्मीलाई अप्ठ्यारो परेको छ ।
“चैत १० गते स्वास्थ्य केन्द्र स्थापना भएपछि हालसम्म पाँचहजार नेपाली स्वदेश फर्किएका छन् । ती मध्ये ४४२ जनाको स्वास्थ्य परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको छ,” स्वास्थ्य केन्द्रका ईन्चार्ज धर्म विकले भन्नुभयो, “महामारीकाबीच जोखिम मोलेर काम गरिरहेका छौं । कार्यालयमा शौचालयसमेत छैन । दुईसय मिटर टाढा सार्वजनिक शौचालय वा महाकाली भन्सार कार्यालयको शौचालय प्रयोग गरिरहेका छौं । बेलुका नेपालमा बास बस्ने ठाउँ नहुँदा भारत जानु परिरहेको छ । यहाँ नेपाली टेलिफोन पनि लाग्दैन ।”
झुलाघाट सीमा नाकाबाट दैनिक दुईसयभन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन् । भारतका ठूला सहर दिल्ली, मुम्बैलगायतका ठाउँबाट आउने नेपालीको एन्टिजेन विधिबाट स्वाब लिएर किटमार्फत् तुरुन्तै स्वास्थ्य परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।
भारतबाट नेपाल भित्रिरहेकाहरुबाट कोरोना सङ्क्रमण फैलिन नदिन झुलाघाट सीमा नाकामा स्वास्थ्य केन्द्र स्थापना गरिए पनि बसोबासको उचित प्रबन्ध नभएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
प्रमुख भट्टले भन्नुभयो, “ नेपालमा बास बस्ने ठाउँ नहुँँदा स्वास्थ्यकर्मी भारतमा डेरा लिएर बसिरहेका छन् । गेट खुलेपछि काममा फर्किनुहुन्छ । गेट बन्द नहुँदै फेरि भारततिर जानु पर्ने वाध्यता रहेको छ । ”
नेपाल–भारत सीमा नाका झुलाघाटमा भारततिर गेष्टहाउस र होटल भए पनि नेपालतर्फ भने बसोबासका लागि होटलको सुविधा छैन । नेपालतर्फ करिब ६० भन्दा बढी नेपालीले कपडाका पसल थापेर व्यवसाय गरिरहेको भए पनि व्यापारीसमेत बास बस्न भारत जाने गरेको स्थानीय जयसिंह भाटले बताउनुभयो ।
भाटले भन्नुभयो, “नेपाली व्यापारीसमेत बेलुका बास बस्न भारत जान्छन् । नेपालमा बस्ने हामी जम्मा तीन जना मात्रै छौं । होटल व्यवसाय सञ्चालन गर्न खानेपानीको समस्या छ । ठाउँको पनि उस्तै अभाव छ । झुलाघाटबाट नेपाली गाउँ शेरा जान हिँड्ने बाटोसमेत राम्रो छैन ।”
झुलाघाट सीमा नाकामा नेपालतर्फ महाकाली भन्सार कार्यालय र प्रहरी चौकी बाहेक अन्य सरकारी कार्यालय छैनन् । साँघुरो गल्ली भएका कारणले पनि नेपालतर्फ होटल व्यवसाय फस्टाउन नसकेको व्यवसायीको गुनासो छ । अन्तर्राष्ट्रिय सीमा नाकाको बजारलाई व्यवस्थित गर्न स्थानीय सरकारलेसमेत चासो नदिएको स्थानीयको भनाइ छ ।