सन्तोष सुवेदी
सिरहा, वैशाख ६ गते । सिरहा अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । उक्त अस्पतालमा उपचारका लागि आइतबार भर्ना भएकी एक महिलामा सोमबारको जाँचपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमणपछि उक्त महिलाको सम्पर्कमा अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु समेत रहेको पाइएपछि जिल्लास्थित कोभिड सङ्कट व्यवस्थापन केन्द्रले सोमबारदेखि उक्त अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
केन्द्रको निर्णयपश्चात् उक्त अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । उक्त अस्पतालमा रोगनिवारक औषधी छर्केपछि पुनः सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ । केन्द्रका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाई गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताउनुभयो ।