आशा साह
काठमाडौं, वैशाख १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कोरोनाभाइरसको सङ्क्रमण हावाको माध्यमबाट फैलिने सम्भावना नरहेको बताएको छ ।
बिहीबार प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सह प्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छुयूँ गर्दा निस्कने थुकको माध्यमबाट मात्र कोरोनाभाइरस सर्ने दाबी गर्नुभएको छ ।
प्रेस ब्रिफिङ्मा नयाँ कोरोनाभाइरस हावाबाट पनि सर्छ ? भन्ने जिज्ञासामा डा. अधिकारीले सो कुरा बताउनुभएको हो । उहाँले अहिलेसम्म हावाबाट कोरोना सरेको पुष्टि नभएको समेत बताउनुभएको छ ।
‘कोरोना हावाबाट सर्ने नभई सङ्क्रमित व्यक्तिले हाच्छुयू गर्दा, ठूलो स्वरमा बोल्दा र गीत गाउँदा मुखबाट निस्कने थुकबाट अर्को व्यक्तिमा सर्न सक्छ । भाइरस आफैँ हावामा उड्दैन,’ उहाँले भन्नुभयो, ‘यो नाक र मुखबाट निस्कने थुकमा मिसिएर बाहिर निस्कन्छ । त्यसकारण सङ्क्रमित भएको व्यक्तिबाट दुई मिटर टाढा बस्ने, मास्क लगाउने गर्नुपर्छ । यसरी बस्दा सङ्क्रमण सर्ने सम्भावना कम हुन्छ ।’