logo
२०८१ मंसिर ८ शनिवार

 अन्तर्वार्ता  



'नयाँ प्रजाति प्रवेश गरेन भने सङ्क्रमित सङ्ख्या दिनप्रतिदिन घट्दै जानेछ '

स्वास्थ्य |
अन्तरवार्ता |


'नयाँ प्रजाति प्रवेश गरेन भने सङ्क्रमित सङ्ख्या दिनप्रतिदिन घट्दै जानेछ '



विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)ले नेपाल पनि नराम्रोसँग प्रभावित भएको छ । नेपालमा संक्रमण दर केही घटेको भए पनि उच्च नै छ । अहिले कोभिडको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि उच्च नै छ । यो विषम परिस्थितिमा सरकार, अस्पतालहरु, चिकित्सक र बिरामी स्वयंको भूमिका कस्तो हुनुपर्ने ? लगायतका विषयमा चीनका लागि नेपालका पूर्व राजदूत, नेपाल जनस्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष तथा जनस्वास्थ्यविद् डा. महेश मास्केसँग गोरखापत्र अनलाइनका लागि विष्णु पाण्डेयले गर्नुभएको कुराकानी
अहिलेको यो कोभिडको अवस्था कहिलेसम्म रहन सक्छ ?
कोभिड १९ को भयावह दोस्रो लहरले आक्रान्त परिवेशमा आशाको किरण देखा परेको छ । स्वास्थ्य मन्त्रालयद्वारा दैनिक जारी गरिने तथ्यांकको विश्लेषण गर्दा जेठको पहिलो हप्तामा काठमाडौँ र बाग्मती प्रदेशका नयाँ संक्रमित हरुको संख्यामा आइरहेको कमीले तीव्रता लिने र निको हुनेको संख्या बढ्दै जाने प्रबल सम्भावना छ । त्यसैले पहिला यो जिल्ला र प्रदेशमा कोरोनाको ग्राफ तल झर्न शुरु हुनेछ । नेपालको सम्पूर्ण संक्रमित संख्याको करिब ५० प्रतिशत बागमती प्रदेशमा रहेकाले त्यसमा आएको कमीले गर्दा जेठको दोस्रो हप्तादेखि सम्पूर्ण देशको नया संक्रमितहरुको संख्या प्रभावकारी रुपमा घट्न शुरु गर्ने अनुमान गर्न सकिन्छ । कुनै अर्को नयाँ प्रजातिले नेपाल प्रवेश गरेन भने दैनिक नयाँ संक्रमितहरुको संख्या दिन प्रतिदिन घट्दै यो ग्राफ ओरालो लाग्नेछ ।


तर नयाँ संक्रमितहरुमा कमी आए पनि यो दुई हप्ताभित्र सक्रिय संक्रमितहरुको संख्या करिब एक लाख ३० हजार पुग्ने भएकोले यही स्थिति रहेमा अस्पतालको चाप, गम्भीर प्रकारको रोगीहरु र मृत्युको संख्यामा कमी आउन अर्को एक महिना लाग्न सक्छ । त्यसैले त्यो समयलार्ई छोट्याउन सरकारले युद्धस्तरमा अल्पकालीन कोभिड विशेष अस्पतालहरु बनाउनु आवश्यक छ ।
सबै सरकारी अस्पताललार्ई कोभिड अस्पताल बनाउने हतासाको मानसिकता हो । त्यसले कोभिड बाहेकका अन्य रोगीको सेवामा जटिलता थप्ने निश्चित छ । निजी अस्पताल र मेडिकल कलेजहरु नै त्यस्ता अल्पकालीन अस्पताल बन्नुपर्छ ।
अन्य रोगिहरुको सेवा मा यसले के असर पर्ला ?
के बुझ्नु आवश्यक छ भने कोरोनाबाट धेरै व्यक्तिको अकाल मृत्यु भए पनि अहिलेसम्म यसको संख्या क्षयरोगबाट बर्सेनि हुने संख्याको आधाभन्दा पनि कम छ । नेपालमा सबैभन्दा बढी मृत्यु हुने मुटु, फोक्सो, मगजको रोग र निमोनियाको कारणले हो । तिनीहरुको तुलनामा कोभिडको महामारीले भएको मृत्यु झनै कम छ । गंगालाल जस्तो मुटुरोग विशेष अस्पताललाई आम कोभिड रोगीको उपचारको लागि दबाब दिँदा त्यहाँका मुटुरोगीलार्ई कस्तो प्रभाव पर्छ भन्ने सामान्य ख्याल गरेको पनि देखिएन । कोभिडको कारणले अन्य रोगको उपचारमा ल्याएको प्रतिकूल असरले ती रोगबाट कति मृत्यु भैरहेको छ भन्ने सरकार र मेडिया दुवैले वास्ता गरेको देखिन्न । सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने नीतिले अन्य रोगबाट मृत्यु हुने सम्भावनालार्ई बढाउँछ भनेर किन बुझ्न नसकेको हो र कोभिडको लागि अस्पताल हरुलाई छ्र्यासमिस गर्नुको सट्टा छुट्टै कोरोना विशेष अस्पताल बनाउनुपर्छ भन्ने कहिले सोच्ने होला ?
यो अवधि मा सरकार ले गरेका प्रयत्न हरु कतिको पर्याप्त छन्?
कोभिड १९को दोस्रो लहरले नेपाललाई आक्रान्त पार्छ भन्ने पूर्वानुमान भारतको परिदृश्यले दिँदादिँदै पनि तदनुरुप समय छँदै नेपालको स्वास्थ्य सेवा, अस्पताल र अक्सिजनको समुचित व्यवस्थापन नगर्नु तथा कोरोना नियन्त्रणमा आफ्नै देशको सफल उदाहरणलाई उपेक्ष गर्नु यसको प्रमुख कारण हुन् । यसको प्रथम लहरदेखि नै पर्सा जिल्लाको उदाहरण प्रस्तुत गरेर हामीले निजी अस्पताल र मेडिकल कलेजलार्ई कोभिड विशेष अस्पताल बनाऊ भन्दै आएका थियौ । नेपाल चिकित्सक संघको माग पनि त्यही थियो । अहिले आएर बल्ल त्यसप्रति केही प्रयत्न गर्न खोजेको देखिन्छ तर अक्सिजन आदि अन्य आवश्यक व्यवस्थापनको अभावमा सफल भएको छैन । यो ढिलाइले आगो लागेपछि कुवा खन्ने उखानलाई नै चरितार्थ गरेको देखिन्छ ।
तथापि सबै दोष नेपाल सरकारलाई मात्रै पनि दिन सकिन्न । युके र भारतमा विकसित भैरहेको नयाँ प्रजातिको संक्रमणको तीव्रता र आक्रामकता बारे बिज्ञहरुमै जानकारीमा कमी थियो अहिले पनि छ । यो भाइरसबारे सबै कुरा थाहा भैसकेको छैन । विज्ञहरु नै कतिपय कुरामा अनभिज्ञ छन् । आम नेपाली जनता पनि अब कोरोना सकियो भन्ने लागेर अपनाउनुपर्ने साबधानीप्रति लापर्बाह भएकै हो, त्यसमा भ्याक्सिन लगाएपछि सुरक्षित भैहालिन्छ भन्ने मानसिकताले पनि काम गरेको छ । तर यसमा सबैभन्दा बढी नेपालको राजनैतिक संकटले गर्दा भएको जुलुस, भेला र भीड, र सांस्कृतिक पर्ब, विवाह भोज, स्कुल, सिनेमा, होटेल र अन्य उद्योगले जोखिम बढाएको देखिन्छ । त्यसैले अनुमान गरेभन्दा धेरै संख्यामा संक्रमितहरु, गम्भीर प्रकारका रोगीहरु र मृत्यु झेल्नुपर्यो जसलार्ई नेपालको स्वास्थ्य सेवाले धान्न सकेन । भारतको केरला जस्तो सुदृढ स्वास्थ्य प्रणाली भएको सानो राज्य पनि यो दोस्रो लहरमा हालसालै भारतको सबैभन्दा ठूलो संख्यामा दैनिक संक्रमित बढेको राज्य बन्न पुग्यो । किन त्यसो भयो हामीले विचार गर्नुपर्छ । त्यसैले यो बेला नकारात्मक कुरामात्र गरेर समाधान निस्कँदैन । अहिलेको चुनौती अस्पताल सेवाको क्षमतालाई बढाउनु र घर आइसोलेसनलाई प्रभावकारी बनाउनु हो ।
अहिलेको अवस्थामा चिकित्सक,अस्पताल र बिरामी स्वयंको भूमिका कस्तो हुनुपर्दछ ?
यो विषम परिस्थितिमा नेपाली जनताले आफ्नो स्वास्थ्यको ख्याल आफैँ गर्नु र वडा स्तरको नेतृत्वले घर आइसोलेसनमा बसेकाहरुलाई समुचित स्वास्थ्य सेवा पुर्याउनुको बिकल्प छैन । उनीहरुका लागि फोनबाटै चिकित्सकहरुले पुर्याउने टेलिमेडिसिन सहयोग र वडा नेतृत्वमा स्वास्थ्यकर्मीहरुले घरमा सम्पर्क गर्ने नियमित अनुगमनका उत्साहवद्र्धक उदाहरण नेपालका विभिन्न जिल्ला हरुमा देखापरिसकेका छन् । घरमा बस्न नसक्नेहरुको लागि संस्थागत आइसोलेसन निर्माण गर्नु पनि त्यत्तिकै आवश्यक छ । यतिका पार्टी प्यालेस खाली छन् त्यसको उपयोग गर्न सकिन्छ । समयमै उचित हेरचाह गर्न सकिएको खण्डमा संक्रमितहरु साधारण अवस्थामै निको भएर गएको वा अस्पताल जानुपर्ने स्थिति वा अक्सिजन लिनुपर्ने स्थितिबाट जोगिएको थुप्रै अनुभवले कोभिड १९ बाट त्यति आत्तिनुपर्ने होइन रहेछ भन्ने बोध पनि हुन थालेको छ ।
त्यसमा सबैभन्दा प्रभावकारी उपाय भनेको फोक्सोमा श्वास पूर्णरुपमा भर्ने व्यायाम र पेटले ओछ्यान नछोई घोप्टो परी सास लिने ूसेल्फ प्रोनिङ्ग हुन् । भारतका मेदान्त अस्पतालका चिकित्सक डा.अरविन्द कुमारको यसबारे उपयोगी भिडिओ यु ट्युबमा उपलब्ध छ । त्यसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ जसलार्ई अक्सिमिटर नामको सानो यन्त्र औँलामा च्यापेर त्यसको मात्रा थाहा पाउन सकिन्छ । त्यसरी आबश्यक परेका तर खरिद गर्न नसक्नेहरुलाई अक्सिमिटर उपलब्ध गराउनु सरकारको दायित्व हो ।
घर या संस्थागत आइसोलेसनमा त्यसरी हेरचाह गरिएका व्यक्तिहरुमध्ये केहीलाई मात्रै अक्सिजन र अस्पताल भर्ना हुने अवश्यकता पर्दछ । त्यसको प्रबन्ध गर्ने जिम्मेवारी वडाको नेतृत्वमा स्थानीय सरकारको हो । अब केन्द्रीय कमाण्ड सेन्टरले मात्रै यो बोझ थाम्न सक्दैन । हरेक वडालाई सुसज्जित बनाउन आवश्यक छ । मुम्बईको कोरोना माथि नियन्त्रण त्यसरी नै वडा कमाण्ड सेन्टरहरु स्थापना गरेर भएको थियो जसमा चिकिस्तक नर्सको टोली, एम्बुलेन्स र अक्सिजन उपलब्ध थियो, जसले आफ्नो वडामा आइसोलेसनको हेरचाह गर्नुको साथै आवश्यक परेको व्यक्तिलाई अस्पताल शैया र एम्बुलेन्स सेवा प्रदान गथ्र्याे । यो व्यवस्थापन पछि आउन सक्ने अन्य महाव्याधिका लागि पनि त्यत्तिकै उपयोगी छ ।
अहिले अक्सिजन नै कोभिड बिरामीलाई गम्भीर अवस्थामा पुग्न नदिनका लागि सबैभन्दा आवश्यक वस्तु भएको छ केही स्टेरोइड औषधिका साथै । यतिबेला नाफा हसुर्न अक्सिजनको कालोबजारी गर्नेलाई सरकारले कडा कदम चल्नुपर्छ । साथै बेलैमा अक्सिजनको महत्व बुझनेहरुले आफ्नो सुरक्षाका लागि अक्सिजन सिलिन्डर घरमा ल्याएर राखेका पनि छन् । त्यसले पनि कृत्रिम अभाव सिर्जना भएको छ । हरेक वडाले एउटा अक्सिजन बैंक खोलेर आफ्ना त्यस्ता वडावासीलाई उनीहरुसँग भएको अक्सिजन सिलिन्डर त्यसमा राखिदिन अपिल गर्नुपर्नेछ ताकी त्यो वडामा जसलार्ई सबैभन्दा आवश्यक छ उनीहरुले त्यसको उपयोग गर्न पाउन् । अक्सिजन दातालाई पनि आवश्यक पर्दा अक्सिजन उपलब्धताको प्रत्याभूति होस् । यो महाव्याधिको अन्त्यपछि पनि हरेक वडामा त्यस्ता अक्सिजन बैंकको उपादेयता रहिरहनेछ । कोभिडको तेस्रो लहर आउँदैन भन्न सकिन्न ।
कोभिडविरुद्धको अग्रिम मोर्चामा चिकित्सक, नर्स र जनस्वास्थ्यकर्मी छन् । उनीहरुको मनोबल उचो नबने यो युद्ध जित्न सकिँदैन । उनीहरुलार्ई सम्पूर्ण सहयोग प्रदान गर्नु सरकारको पहिलो कर्तव्य हो । कोभिड१९ महाव्याधिका यी लहरहरु शान्त भएपछि पनि समयले पछाडि फर्केर हाम्रो मूल्यांकन गर्ने नै छ कि हाम्रा पिंढीले यसको सामना गर्न कति बुद्धि पुर्याए र कति विवेक पूर्ण प्रयत्न गरे ।




 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?