गाईघाट समाचारदाता
गाईघाट, जेठ २० गते । उदयपुरका औषधि व्यवसायीबाटै लागुऔषध विक्री वितरण हुने गरेको तथ्य खुलेको छ । बिहीबार औषधि व्यवस्था विभाग विराटनगरको टोलीले जिल्लाको चौदण्डीगढी र बेलका नगरपालिकाका विभिन्न औषधि पसलमा छड्के चेकगर्दा यस्तो तथ्य फेला परेको हो । चेकजाँचमा नेपाल औषधि व्यवसायि संघ उदयपुरका महासचिब विरेन्द्रकुमार झाले सञ्चालन गरेको फार्मेसीबाट लागुऔषधसँग सम्बन्धि विभिन्न औषधिहरु मिसाएर सेवनकर्तालाई विक्री वितरण गरेको फेला परेको विभागका प्रमुख संजिव कटेलले बताउनुभयो ।
चौदण्डीगढी नगरपालिका वडा नं ९ स्थित गोपिकृष्ण मेडिकल सञ्चाल गर्दै आउनुएका झाले ट्रामाडोल, डिसाइक्लोमिन र प्रेगावालिन औषधि मिसाएर लागुऔषध बनाउने र सेवनकर्तालाई विक्रीवितरण गर्ने गरेको फेला परेको कटेलले भन्नुभयो । उहाँका अनुसार यसरी बनाएको औषधि सेवन गर्दा लामो समयसम्म नसा दिने, झुम झुम भइरहने, एकोहोरिने जस्ता लक्षण देखिने गर्दछ ।
कटेलले भन्नुभयो ‘विभिन्न थरीका औषधि मिसाएर लागुऔषध बनाई बिद्यालय क्याम्पस पढ्दै गएका १५/१६ वर्ष उमेरका किशोरहरुलाई विक्री गरेको भन्ने उजुरी परेकाले छड्के चेकजाँच गर्दा सो कुरा पुष्टि भएको हो । झालाई एक वर्षअघि पनि विभागले यही घटनामा पक्राउ गरी २५ दिन कार्वाही गरी छाडेको थियो । पुनः दोहोरिएकाले औषधि ऐन २०३५ अनुसार हदैसम्मको कार्वाही गरिने भन्दै प्रमुख कटेलले उहाँकोे फार्मेसी सिल गरी पाँच दिन भित्र विभागमा हाजिर हुने गरी पत्राचार गरेको बताउनुभयो । उक्त छड्के टोलीले बिहीबार नै विना इजाजत, तोकिएको जनशक्ति वेगरै मापदण्ड विपरीत सञ्चालन गरिएका थप पाँच वटा औषधि पसलमा सिल गरेको छ ।
विभागको छड्के टोलीलाई देखेपछि पसल बन्द गरी फरार भएका तीनवटालाई प्रहरीमार्फत पत्र काटिएको छ । तोकिएको जनशक्ति विना र नविकरण नगरी सञ्चालन गरिएको बेलका नगरपालिका वडा नं ४ सञ्जिवनी मेडिकल, सोही ठाउँमा विना दर्ता सञ्चालित यादव मेडिकल, ठाउसारी र जनशक्ति वेगर सञ्चालित सोही ठाउँको वारहा क्षेत्र फार्मेसीलाई सिल गरेको छ ।
त्यसैगरी, रामपुर सामुदायिक अस्पताल नजिक रमानन्द यादवले दर्ता नगरी सञ्चालन गरेको नाम वेगरको औषधि पसल र सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरस्थित अनुकुल औषधि पसलसमेत सिल गरिएको छ । जनशक्ति नभएको र एलोपेथिकको अनुमति लिएर आयुर्वेदिकलाई प्राथामिकता दिइ धेरै औषधि विक्री गरेको फेला परेपछि अनुकुललाई सिल गरिएको कटेलले बताउनुभयो ।
कोभिड–१९ को परिस्थितिमा सरकारको उपस्थिति कम हुँदा औषधि पसलले जथाभावि औषधिको मूल्य बढाएको, विक्री गरेको, लागुऔषधको कारोवार गर्ने गरेका विभागमा उजुरी परेका कारण छड्के चेकजाँचलाई तिव्रता दिएको उहाँको भनाई छ । चेकजाँचलाई थप प्रभावकारी बनाउँदै अन्य ठाउँमा पुगिने उहाँ बताउनुहुन्छ ।