महिमा देवकोटा/आशा साह
काठमाडौं, जेठ २१ गते । बंगलादेशबाट करिब आठ हजार मात्रा (डाेज) कालो ढुसी अर्थात् ब्ल्याक फङ्गसको औषधि शनिबारबाट नेपाल ल्याउन शुरु गरिने भएको छ ।
बंगलादेशको बिकन फार्मास्यूटिकल्स लिमिटेडले कालो ढुसी उपचारका लागि उत्पादन गरेको औषधि एम्फोटेरिसिन ‘बी’ को पहिलो लट भोलि नेपाल ल्याउन लागिको हो ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार भारतले नेपाललाई दिने औाषधि एम्फोटेरिसिन ‘बी’ मौज्दातका रुपमा राख्ने गरेको भए पनि । पछिल्लो समय भारतमा बढ्दै गएको कालो फङ्गसका कारण यसको निर्यातमा प्रतिबन्ध लगाए पछि औषधिको अभाव हुन थालेको थियो । भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएका कारण बंगलादेशबाट औषधि ल्याउनु लागेको उहाँले बताउनुभयो ।
‘पछिल्लो समय नेपालमा पनि ब्ल्याक फङ्गसका बिरामी देखा पर्न थालेका छन्,’ उहाँले भन्नुभयो, ‘यसका लागि नेपालले औषधिका लागि दुई वा तीन वटा कम्पनीसँग परामर्श गरेको छ । तीमध्ये भोलि बीकन फार्मास्यूटिकल्स लिमिटेडले उत्पादन गरेको एम्फोटरिसिन ‘बी’ नेपाल ल्याइँदै गरेको हो ।’
औषधि व्यवस्था विभागका सूचना अधिकारी केसी भन्नुहुन्छ, ‘ब्ल्याक फङ्गस सङ्क्रमणको कारण देशमा एम्फोटेरिसिन ‘बी’ को आावश्यकता बढेको छ । र हामीले आपत्तकालीन उद्देश्यका लागि उक्त औषधि मौज्दात राख्ने योजना गरेका छौं ।’
बंगलादेशबाट भोलि नेपाल ल्याइने औषधि एम्फोटेरिसिन ‘बी’ को वितरणको जिम्मा प्राइम फार्मास्यूटिकल्सले पाएको छ । साथै उक्त औषधि कोभिड–१९ सङ्क्रमित बिरामीहरुको उपचार गर्ने अस्पतालहरुले प्राथमिकतामा प्राप्त गर्ने औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउनुभयो ।
त्यसोत नेपालमा अहिलेसम्म १० जनामा कोलो ढुसीका बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौंमा फेला परेका छन् । यसअघि कालो ढुसी छिमेकी मुलुक भारतमा फेला परेका थियो ।
कालो ढुसीले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमणा गम्भीर भए प्राणघातक हुनसक्ने डा.पौडेलले बतानुभयो । अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नााक सिन्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने र ढकनी झुक्ने, ज्वरो आउने, आँखाले धमिलो लेख्ने, नाकबाट रगत र बाक्लो सिङ्गान आउने, दाँत दुख्ने वा हल्लिने जस्ता लक्षण देखापर्ने गर्दछन् ।
कोभिड–१९ जस्तै यो रोग नसर्ने भए पनि ४५ देखि ६५ उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिवायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने उहाँले बताउनुभयो ।
कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, मास्क धोएर प्रयोग नगर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्नुपर्दछ ।
यस्तै, पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, जथाभावी एन्टिवायोटिक औषधि सेवन नगर्ने, मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्ने उहाँले बताउनुभयो ।