logo
२०८१ बैशाख ४ मंगलवार



सङ्क्रमणको वेग कम भए पनि जोखिम कायमै : डा. वन्त

स्वास्थ्य |


सङ्क्रमणको वेग कम भए पनि जोखिम कायमै : डा. वन्त


विष्णु पाण्डेय
काठमाडौं, असार ६ गते । कोभिड – १९ (कोरोना भाइरस) सङ्क्रमणको वेग कम भैरहे पनि जोखिम भने कायमै रहेको जनस्वास्थ्यविद् डा.शरद वन्तले बताउनुभएको छ । पहिलो भेरियन्टको तुलनामा दोस्रो भेरियन्ट शक्तिशाली भएकाले सङ्क्रमण धेरै समयसम्म रहन सक्ने उहाँ बताउनुहुन्छ ।
यो भाइरस कति समयसम्म रहन्छ भन्ने कुरा व्यक्तिहरुको व्यवहारमा निर्भर रहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “यो भेरियन्ट पहिलेको भन्दा धेरै चलायमान र आक्रामक छ, त्यसैले हामीले आफ्नो व्यवहार, आचरणमा परिवर्तन ल्याएनौँ र जनस्वास्थ्यका मापदण्डमा ख्याल गरेनौँ भने यसको अवस्था लम्बिँदै जानेछ ।” यो भाइरस नियन्त्रणको पहिलो प्राथमिकता भनेकै जनस्वास्थ्यको मापदण्ड पालना गर्नु रहेको उहाँको भनाइ छ ।
एन्टिजेन परीक्षणका आफ्नै फाईदा भए पनि यसले शतप्रतिशत कोरोना सङ्क्रमण यकिन नहुने भएकाले कोरोनाको लक्षण मिल्दाजुल्दा भएको व्यक्तिको एन्टिजेन परीक्षण नेगेटिभ नै आए पनि पिसीआर परीक्षण अनिवार्य गर्नुपर्ने उहाँको जोड  छ । “हामीले कोरोनाका लक्षण भएकाहरुमा छिटो तरीकाले जान्न एन्टिजन परीक्षण गर्छौ तर नेगेटिभ आयो भने हामी पिसीआर गर्दैनौँ यसको मतलब त्यो व्यक्ति कोरोना संक्रमित नै छैन भन्ने चाँहि होईन , उसको पिसीआर अनिवार्य गरेर मात्र थाहा हुन्छ ”उहाँले भन्नुभयो । धेरै जना संक्रमित भएको ठाउँमा एन्टिजेन परीक्षण फलदायी हुने उहाँको ठहर छ ।
डा. वन्तका अनुसार दोस्रो लहरमा आफूलाई शङ्का लागेर, लक्षण देखिएर मात्र परीक्षण गराउन आउने र अस्पतालमा गएर अस्पतालले परीक्षण गराउन आग्रह गरेका व्यक्तिहरुको मात्र पिसीआर परीक्षण भएको छ । संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पिसीआर परीक्षण नभएका कारणले पिसीआर परीक्षणको दर कम नै रहेको उहाँ बताउनुहुन्छ ।
निषेधाज्ञाले मात्र सङ्क्रमणको दरलाई थेग्न नसक्ने उहाँको दाबी छ । “निषेधाज्ञाको एउटा महत्वपूर्ण भूमिका हुन्छ तर संक्रमणको वेग रोक्न अरु जनस्वास्थ्यका मापदण्ड पनि महत्वपूर्ण हुन्छन् त्यसकारण निषेधाज्ञाकै भरमा मात्र कोभिड नियन्त्रणमा आउँछ भन्न सकिन्न तर निषेधाज्ञा पछाडि सङ्क्रमणको दर पक्कै कम भएको छ” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो “निषेधाज्ञाका बावजुद अरु स्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने थियो तर त्यो हुन सकिरहेको छैन । बिहान बेलुका दुई, तीन घण्टा खुलेका पसलहरुबाट नै कोरोना फैलन सक्ने डर बढेको छ । निषेधाज्ञासँगै कन्ट्याक ट्रेसिङ् गर्न, बाहिरबाट आउनेलाई क्वारेन्टाईमा राख्ने र होम आईलेसनमा रहेकाहरुलाई पनि निरन्तर अनुगमन गर्नुपर्ने थियो तर त्यसो हुन सकेन ।”
निषेधाज्ञालाई क्रमशः खोल्दै लग्नुको विकल्प नभएको डा. वन्तको भनाइ छ । यसको अर्थ अब हामी कोरोनामुक्त भयौँ भन्ने सोच्न नहुने उहाँ बताउनुहुन्छ । “निषेधाज्ञा क्रमशः खुलाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न छुटाउनु हुँदैन, जुन हदसम्म पालना गर्न सकिन्छ त्यो हदसम्म पालना गर्नैपर्छ । लापरवाही गर्ने वितिक्कै फेरि जोखिम बढ्न सक्छ ” उहाँले भन्नुभयो ।
सबै सङ्क्रमितहरुलाई पहिचान गर्न नसकिएकाले अहिले पनि सङ्क्रमितहरु समुदायमा चलायमान अवस्थामै रहेको उहाँ बताउनुहुन्छ ।
सबै ठाउँमा कोरोनाको जोखिम अध्ययन गरेर मात्र कम जोखिम भएका क्षेत्रहरुमा विस्तारै निषेधाज्ञा खोल्दै लानुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो “ नेपालभर सबै ठाउँमा एकै प्रकारको सङ्क्रमणको वेग छैन । केही कम र कही बढी छ, त्यसकारण कम जोखिम भएका क्षेत्रहरुमा विस्तारै निषेधाज्ञा खोल्दै जनजीवन सामान्यतर्फ लानुको अब विकल्प छैन, यससँगै कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको अनिवार्य रुपमा कोरोना परीक्षण गरेर तिनीहरुलाई सुरक्षित आइसोलसनमा राखेर निगरानी गीिरहनुपर्छ, ताकी अरुलाई सङ्क्रमण नसरोस् । ”
सामान्यतया कोरोना सङ्क्रमणको दर कम्तीमा १० प्रतिशतभन्दा कम भयो भने मात्र कोरोना नियन्त्रणमा आएको बुझ्न सकिने भएको कारणले अहिले नै जोखिम टर्यो भन्ने बुझ्नु गलत हुने उहाँको बुझाइ छ । यो सङ्क्रमण दर थाहा पाउनको लागि लक्षण देखिएकाहरुको मात्र परीक्षण नगरी उनीहरुको सम्पर्कमा आएकाहरुको पनि परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?