बिष्णु पाण्डेय
काठमाडौं, असार ९ गते । निषेधाज्ञाका कारणले कोरोनाको सङ्क्रमण दर घटे पनि अब हुने स्मार्ट लकडाउनले कोभिड नियन्त्रणमा केही चुनैती देखिएको स्वास्थ्य विज्ञहरुले बताएका छन् । स्मार्ट लकडाउनमा निजी सवारी साधनका नाममा ट्याक्सी, र मानिसको भीडभाड हुने मार्टहरु खुल्न दिएको र परीक्षण सङ्ख्या पनि कम भएका कारण जोखिम थप हुन सक्ने उनीहरुको भनाइ छ ।
ग्रामीण क्षेत्रमा बाढी पहिरोका कारण कोरोना सङ्क्रमण अझ बढ्न सक्ने स्वास्थ्यबिद् डा. प्रभात अधिकारीले बताउनुभएको छ । अब सङ्क्रमणको दरलाई नियमित रुपले घटाइरहन चुनौतीपूर्ण रहेको उहाँ बताउनुहुन्छ । “अहिले बिशेषगरी ग्रामीण भेगमा बाढी पहिरो गइरहेको छ । यसकारण त्यहाँका मानिस विस्थापित भएका छन् यो अवस्थामा सबै एकै ठाउँ बस्नुपर्ने बाध्यता छ, स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना भइराखेको छैन यसकारण पनि कोरोना सङ्क्रमण नियन्त्रणमा थप चुनौती थपिएको छ,” उहाँले भन्नुभयो ।
निषेधाज्ञाको बेलामा धेरै भन्दा धेरैको पिसीआर परीक्षण गर्नुपर्ने आवश्यकता भए पनि अहिले नेपालको पिसीआर परीक्षणको मात्रा दैनिक २० हजारभन्दा बढी नरहेको देखिएको उहाँको दाबी छ । वर्तमान समयमा पिसीआर परीक्षणको मात्रा बढाउन नसकिए क्लिनिकल टेस्टिङ् ध्यान दिन उहाँले सरकारलाई आग्रह गर्नुभएको छ । यसमा कुनै किटको प्रयोग गर्नु नपर्ने र कोरोना सङ्क्रमितकाे सम्पर्कमा आएका जोकोहीलाई पनि अनिवार्य १० दिन क्वारेन्टाईन बसाल्नु नै क्लिनिकल टेस्टिङ् हो ।
“रुघाखोकी नै लागेपनि उनीहरुमा कोरोना सङ्क्रमण छ नै भन्ने ठानेर आईसोलेट गर्नुपर्छ र उनिहरुसँग दुई दिन अघिसम्म सम्पर्कमा आएकाहरुलाई पनि आईसोलेट गर्नुपर्छ ,यसो गर्दा रुघाखोकि नै मात्र लागेको भए पनि अरुलाई सर्दैन यदि कोरोना नै भए पनि अरुलाई सर्न पाउँदैन,” उहाँले भन्नुभयो “तर पिसीआरको सुविधा भएको ठाउँका भने लक्षण देखिना साथ पिसीआर अनिवार्य गर्नुपर्दछ ।”
स्मार्ट लकटाउनको अर्थ अब लकडाउन खुल्यो नै भनेर सोच्न नहुने उहाँ बताउनुहुन्छ । अझै पनि कोरोनाका संक्रमितहरु थपिरहेको अवस्था भएकाले सचेतना अपनाउन उहाँको आग्रह छ । स्मार्ट लकडाउनको अवस्था एक/एक सातामा विश्षेषण गर्दै जानुपर्ने उहाँको भनाई छ । यो स्मार्ट लकडाउन नेपालको सबै ठाउँको लागि एकै नभएको कारण कोरोनाको जोखिम हेरेर यसको प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ ।
सरकारी निकायमा आलोपालो प्रणलि प्रयोग नगर्ने, निजी र सरकारी सवारी साधनहरुलाई पनि आलोपालोमै लागू नगर्ने र एक जिल्लाबाट अर्को जिल्लामा यातायातलाई सहज रुपमा आवतजावत गर्न दिने हो भने यो स्मार्ट लकडाउनले कुनै अर्थ नराख्ने उहाँको दाबी छ ।
यस्तै जनस्वास्थ्यविद् बाबुराम मरासिनीले पनि यो स्मार्ट लकडाउनको अर्थ आम सर्बसाधारणले सहजै बुझुन नसक्ने भएकाले यस्ता शब्दको प्रयोग गर्न नहुने उहाँ बताउनुहुन्छ । स्मार्ट लकडााउन अपनाइएका क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना नभएको खण्डमा भने यो झन घातक हुन सक्ने उहाँको भनाई छ ।
बढी सङ्क्रमण र कम सङ्क्रमण क्षेत्रको पहिचानको आधारमा स्मार्ट लकडाउनको वर्गीकरण गर्दै जानुपर्नेमा उहाँको जोड छ । निषेधाज्ञा लामो समय राख्न नसकिएका कारणले मात्र यो प्रणाली प्रयोग गरिएको उहाँको भनाई छ । कम जोखिम र बढी जोखिम क्षेत्रको पहिचान गरेर मात्र यो स्मार्ट लकडाउनले अर्थ राख्ने उहाँले बताउनुभएको छ ।
“नेपालले स्मार्ट लकडाउनको सिको पाकिस्तानबाट गरे पनि पाकिस्तानमा जस्तो यहाँ परीक्षण नै भएको छैन, पाकिस्तानले लकडाउनको अवधिमा परीक्षणको सङ्ख्या बढाएकाले मात्र त्यहाँ सफल देखिएको हो तर नेपालमा परीक्षण सङ्ख्या अझ बढाउनुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो ।
परीक्षणको हिसाबले भन्दा पनि पहिलेको तुलनामा अस्पातलमा सङ्क्रमितहरुको चाप घटेका कारणले मात्र अहिले कोरोनाको सङ्क्रमण दर घटेको देखाएको उहाँको भनाइ छ । जोखिम कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।