काठमाडौं, साउन ११ गते । केही दिनयता नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ । सोमबार डेढ महिनायताकै बढी सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क डेढ महिनायताकै बढी हाे । सोमबार १७ हजार २७२ जनाको परीक्षण गर्दा तीनहजार ४२१ जनामा सङ्क्रमण पुष्टि भएको छ।
जेठ अन्तिम साता पाँच हजार १५३ जना सङ्क्रमित थपिए पनि त्यसयता भने सङ्क्रमितको सङ्ख्या औसत तीन हजारमा झरेको थियो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो पाँच–छ दिनमा परीक्षणको दायरा बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको हो ।आइतबार १३ हजार ८३४ जनाको परीक्षण गर्दा २२ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने शनिबार १४ हजार ९१० जनाको परीक्षण गर्दा ३१ सय १४ जना सङ्क्रमित थपिएका थिए ।
त्यस्तै, शुक्रबार १७ हजार ३०८ जनाको परीक्षण गर्दा २९ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । साथै, बिहीबार १२ हजार ८२९ जनाको परीक्षण गर्दा २७ सय १४ जना सङ्क्रमित थपिएका थिए । बुधबार १२ हजार ६१६ जनाको परीक्षण गर्दा २८ सय ३८ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, नेपालमा हालसम्म छ लाख ८२ हजार ९४७ जनामा कोरोना सङ्क्रमित पुष्टि भइसकेको छ भने छ लाख ४५ हजार ३०१ जना सङ्क्रमण मुक्त भइसकेकाे छ । साथै, हालसम्म नौ हजार ७३८ जनाले सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।