दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १२ गते । वीरगञ्ज र यस आसपासको क्षेत्रमा कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामी बढेसंगै कोरोना जाँच गराउनेको संख्या पनि बढेको छ । पछिल्लो १० दिनयता उच्च ज्वरो आउने, टाउको र छाती दुख्ने,नाकबाट पानी बग्ने, रुघा र निरन्तर खोकी लाग्ने, बोल्न र सास फेर्नमा पनि असहज हुने जस्ता कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामीहरु बढेसँगै वीरगञ्जमा कोरोना परीक्षण गराउनेको संख्या पनि बढेको हो ।
एक वा दुई दिन बिराएर कोरोना परीक्षण गर्ने गरिएकोमा साउन ७ गतेदेखि दैनिक एक सयको हाराहारीमा स्वाबको कोरोना परीक्षण गर्न थालिएको नारायणी अस्पतालमा कोभिड संयोजक डा.उदयनारायण सिंहले बताउनुभयो । नारायणी अस्पतालको प्रयोगशालामा साउन ७ गते एकै दिन ३२० जना, साउन ८ गते ८४ जना, साउन १० गते १४९ जना र साउन ११ गते १०१ जना गरी पछिल्लो चार दिनमा नै ६५४ जनाको स्वाब परीक्षण गरिएको अस्पतालमा कोभिड संयोजक डा. सिंहले जानकारी दिनुभयो । चार दिनमा ६ सय ५४ जनाको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
साउन १२ गते मङगलबार पनि एकसय बढीले स्वाब दिएको डाक्टर सिंहले जानकारी दिनुभयो । ज्वरो आउने, टाउको र छाती दुख्ने, नाकबाट पानी बग्ने, रुघा र निरन्तर खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या आई नारायणी अस्पतालमा उपचारका लागि आएका बिरामीहरु मध्ये पाँचजनाको स्वाब नमूना, काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएर जाँच गराउदा चार जनामा इन्फ्लुएन्जा ए एचथ्रि संक्रमण पोजेटिभ देखिएको नारायणी अस्पतालका डा. सरोजरोशन दासले बताउनुभयो । उहाँका अनुसार वीरगञ्जबाट २१ वर्षका तीन जना महिला, २५ वर्षकी एक महिला र २७ वर्षीय एक पुरुष गरी पाँच जनाको स्वाब नमुना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने स्वास्थ्य समस्या भएका बिरामीहरुको चाप नारायणी अस्पतालमा मात्र नभई वीरगञ्जमा अन्य बिभिन्न अस्पताल र क्लिनिकहरुमा समेत बढेको चिकित्सकहरु बताउछन् । नारायणी अस्पतालमा मात्रै दैनिक त्यस्ता लक्षण भएका ५० भन्दा बढि बिरामी उपचारका लागि आउने गरेको डा. दासले बताउनु भयो । पछिल्लो समयमा बिभिन्न क्षेत्रको परीक्षाहरु चलेको र परीक्षामा कोरोना परीक्षण अनिवार्य गराइएकाले पनि कोरोना परीक्षण बढेको र इन्फ्लुएन्जा ए को संक्रमण बढेकाले मानिसहरु कोरोना हो कि भनेर डराएर कोरोना परीक्षण गर्न थालेकाले कोरोणा परीक्षण गराउनेको संख्या बढेको डा. दासले बताउनुभयो ।