logo
२०८१ भाद्र २२ शनिवार

  अक्सिजन जाेहाेमा गम्भीरता देखिएन  



अक्सिजन सिलिण्डर अझै फिर्ता भएनन्, कुन प्रदेशमा कति मौज्दात

स्वास्थ्य |
पढ्नै पर्ने |


अक्सिजन सिलिण्डर अझै फिर्ता भएनन्, कुन प्रदेशमा कति मौज्दात


काठमाडौं, भदौ ४ गते । प्रयोग भएका अक्सिजन सिलिण्डर पुनः रिफिलका लागि उद्योगसम्म फिर्ता नहुँदा अक्सिजन व्यवस्थापनमा चुनौती थपिएको छ । कोरोना सङ्क्रमण दर बड्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशलाई अक्सिजनको व्यवस्थापन गर्न निर्देशन दिए पनि अझै खाली सिलिण्डर उद्योगसम्म आइनपुगेको व्यवसायीहरुले बताएका छन् ।

सीता मेडिकल अक्सिजन उद्योगका सञ्चालक तथा अक्सिजन उत्पादक संघका सदस्य प्रल्हाद तिमिल्सिनाले भरेर प्रयोगका लागि बजारमा गएको सिलिण्डर कुनै पनि उद्योगसम्म रिफिलिङका लागि आइनपुगेको बताउनुभयो । अक्सिजन भण्डारण गर्ने व्यवस्था नभएको र प्रयोग भएका सिलिण्डर समेत पुनः रिफिलका लागि नआएपछि उद्योगहरुले उत्पादन बन्द गरेर बस्न बाध्य भएको उहाँले बताउनुभयो ।

तेस्रो भेरियन्ट आउनसक्ने भन्दै विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापन गर्न चासो देखाएको थियो । प्रदेशहरुलाई अक्सिजन व्यवस्थापन गर्न मौज्दात राख्न र खाली सिलिण्डर भर्न निर्देशन दिएको छ । तर व्यवसायीहरुले यसअघि प्रयोग गरिएका खाली सिलिण्डर उद्योगसम्म फिर्ता नआएको बताउँदै व्यवस्थापनमा चुनौती हुनसक्ने बताएका हुन् ।

मन्त्रालयले सङ्क्रमण अवस्थालाई दृष्टिगत गरी अक्सिजन व्यवस्थापन गर्न निर्देशन दिएपनि प्रदेश सरकारले प्रभावकारी तयारी गर्न सकेको पाइएको छैन । दोस्रो लहरकाबेला २४ घण्टा चालू अवस्थामा रहेका अक्सिजन उद्योगहरु अहिले कामविहीन बनेका छन् । वितरण गरिएका सिलिण्डर खाली भएपछि खोजी तथा प्रभावकारी व्यवस्थापन नगरे अक्सिजन अभाव खेप्नुपर्ने अक्सिजन उत्पादक सङ्घका सदस्य तिमिल्सिनाले बताउनुभयो । सरकारले अक्सिजन उद्योगहरुलाई ५० हजार गोटाका दरले सिलिण्डर जिम्मा लगाई अक्सिजन भण्डारण गर्न दिदाँ उपयुक्त हुने उहाँको सुझाव छ ।
काठमाडौंमा रहेका अक्सिजन उत्पादन गर्ने सातवटा उद्योग सिलिण्डर अभावले उत्पादन बन्द गरेका छन् । खाली भएका सिलिण्डर भरेर राख्न सकियो भने मात्र आवश्यक पर्दा सरकारले सजिलै आपूर्ति गर्नसक्छ नत्र सम्भावना नभएको व्यवसायीहरुको भनाइ छ ।

प्रदेशहरुको तयारी
प्रदेश १
प्रदेश १ सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका ३३५ वटा सिलिण्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका स्टोरकिपर मानबहादुर मगरले जानकारी दिनुभयो । ३५ वटा मात्र सिलिण्डर बाँकीमध्ये अमेरिकी दूतावासले ५०० थान उपलब्ध गराएको र दुई सय थान वितरण गरिसकेपछि हाल ३३५ थान बाँकी रहेको हो । यता प्रदेश १ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराइकाअनुसार प्रदेश अन्तर्गत १४ वटा अस्पतालमध्ये आठवटामा अक्सिजन प्लान्ट निर्माणका लागि डेढ करोड रुपियाँका दरले बजेट विनियोजन भएको र बाँकी मेची अस्पताल झापा, भोजपुर, संखुवासभा, पाँचथर, उदयपुर, धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट जडान सम्पन्न भएको बताउनुभयो । खाली सिलिण्डर फिर्ता गरी भरेर तयारी अवस्थामा मौज्दात राख्ने काम भने नभएको उहाँले बताउनुभयो ।

प्रदेश २
प्रदेश अन्तर्गत रहेका १४ वटै अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण प्रक्रिया अघि बडाएको, ढल्केबर, जनकपुर र सिमरामा निजी उद्योगहरु भएका कारण अक्सिजन व्यवस्थापनमा समस्या नहुने सामाजिक विकास मन्त्रालय प्रदेश २ का प्रवक्ता ठुलोवावु दाहालले बताउनुभयो । निजी उद्योगहरुसँग व्यवस्थापकीय नियन्त्रण गरेर आपूर्तिलाई सहज बनाउने गरी काम अघि बढाइएको उहाँको भनाई छ । संक्रमण दर बृद्धि हुँदै गएसँगै प्रदेश सरकारले प्रदेशभित्र रहेका सिलिण्डरलाई रिफिल गर्ने काम अघि बडाएको उहाँले बताउनुभयो ।

बाग्मती प्रदेश
बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रवक्ता रमेशकुमार उपाध्य संघीय सरकारले दिएको निर्देशन अनुसार सम्वन्धित मन्त्रालय र आपूर्ति केन्द्रलाई एक हजार सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको बताउनुभयो । प्रदेश अन्र्तगतका अस्पतालहरुमा अक्सिजन प्लाण्ट निर्माणको काम अघि बडाइएकाले तत्काल अक्सिजन आपूर्तिमा समस्या नपर्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशका प्रवक्ता रामेश्वर अर्यालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अक्सिजनसहितको सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको बताउनुभयो । प्रदेशभित्र रहेका अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणको काम अन्तिम अवस्थामा पुगेकाले अक्सिजन आपूर्तिलाई थप सहज बनाउन अस्पतालमा वितरण गरिएको खाली सिलिण्डरको व्यवस्थापन गर्नसमेत लागिपरेको उहाँले बताउनभुयो ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका रोसन तिमिल्सीनाका अनुसार आपूर्ति केन्द्रमा ७२५ थान खाली सिलिण्डर मौज्दात रहेको र ५०० थान भरी सिलिण्डर जिल्ला अस्पतालमा वितरण गरेको जानकारी दिनुभयो । १० वटा जिल्ला अस्पताल दुईवटा प्रादेशिक अस्पताल र भेरी अस्पताल गरी १३ वटामा पाँचसयभन्दा बढी सिलिण्डर थप मौज्दात रहेको उहाँको भनाइ छ । खाली सिलिण्डर भर्न अस्पताललाई निर्देशन दिएको जनाएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार एक हजार थान भरेको अक्सिजन सिलिण्डर मौज्दात राख्ने निर्णय भएअनुसार आठ सय सिलिण्डर मौज्दात राखेको बताउनुभयो । उहाँका अनुसार प्रदेश मातहतका १३ वटा स्वास्थ्य सेवा कार्यालयमा ३२ सय थान सिलिण्डर प्रयोगमा  छन् । यता प्रदेश अन्तर्गतका अस्पतालहरुमा अक्सिजन प्लाण्ट निर्माण हुने क्रममा रहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई कम्तीमा एक हजार थान सिलिण्डर भरेर स्टक राख्न निर्देशन दिइसकेको बताउनुभयो । प्रदेशभित्र बाँकी रहेका खाली सिलिण्डर तत्काल भर्न निर्देशन दिइ सकेकाले आपूर्तिमा समस्या नहुने उहाँले जानकारी दिनुभयो ।

सबै प्रदेश सरकारले अक्सिजनको दिगो व्यवस्थापनका लागि प्रत्येक ठूला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गरेको जनाएको छ । प्रत्येक जिल्लामा कम्तीमा एउटा प्लाण्ट पर्ने गरी बजेट व्यवस्थापन गरी काम शुरु गरेको प्रदेश सरकारहरुको भनाई छ ।
कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिण्डरको अभाव भएपछि चीन सरकारले २० हजार सिलिण्डर र ओमानबाट गैरआवासीय नेपालीले ५६७ थान सहयोग गरेको थियो । केही व्यापारीले निजी तवरबाट र विभिन्न दातृसंस्थाले गरी करिब २६ हजार अक्सिजन सिलिण्डर नेपालमा भित्रिएको थियो । सरकारी तथ्याङ्कअनुसार एक लाख ४९ हजार २१४ वटा मेडिकल अक्सिजन सिलिण्डर नेपाल भित्रिएको छ । हाल दुई लाख ५० हजारभन्दा बढी थान सिलिण्डर रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तथ्याङक छ । तर अहिले ती सिलिण्डर वितरण भएपछि प्रयोग भएर पुनः भर्नका लागि उद्योगसम्म नआएको उद्योगहरुको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?