logo
२०८१ बैशाख ८ शनिवार

  के नेपालमा पनि एकै व्यक्तिमा दोहोरो संक्रमण होला ?  



जिन सिक्वेन्सिङ नै भएको छैन त्यसैले भन्न सकिँदैन : विज्ञ

स्वास्थ्य |


जिन सिक्वेन्सिङ नै भएको छैन त्यसैले भन्न सकिँदैन :  विज्ञ


काठमाडौं,भदौ १३ गते । विभिन्न देशमा कोरोना भाइरसका दुईवटा भेरियन्ट एकै व्यक्तिमा देखिन थालेपछि कोभिडको अनुसन्धानमा थप नयाँ चुनौती थपिएसँगै अनुसन्धानको बाटो थप फराकिलो बनेको छ ।
केही दिन पहिले भारतको आसाम राज्यमा एक चिकित्सकमा अल्फा र डेल्टा भरियन्ट फेलापरेको थियो । कोभिडको दुईवटा भेरियन्ट एकैपटक सङ्क्रमण भएको पहिलो केस भने बेल्जियममा फेलापरेको थियो ।
यसरी एकै व्यक्तिमा दु्ई भेरियन्ट नै फेला पर्दा सङ्क्रमितको स्वास्थ्यमा गम्भीर असर देखिन सक्ने भएकाले वैज्ञानिक र चिकित्सकमा थप चिन्ता बढेको छ । तर नेपालमा भने अहिलेसम्म एकै व्यक्तिमा दुईवटा भेरियन्ट फेलापरेको तथ्याङ्क छैन । तर स्वास्थ्यविद्हरुले भने कोरोना सङ्क्रमण भएको व्यक्तिमा फरक खालको लक्षण देखिए त्यस्तो व्यक्तिमा रहेको भाइरसको जिन सिक्वेन्सिङ् गरेको खण्डमा नेपालमा पनि यो अवस्था देखिन सक्ने बताएका छन् ।
टेकू अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले नेपालमा पनि एकै व्यक्तिमा दुईवटै भेरियन्टको सङ्क्रमण हुुन सक्ने बताउनुभएको छ । नेपालमा विभिन्न व्यक्तिमा सङ्क्रमण भएका नयाँ भाइरसको परीक्षण गर्ने ठाउँ नै नहुँदा पहिचान गर्न नसकिएको उहाँले बताउनुभयो । सरकारले यस्ता विषयलाई उच्च प्राथमिकता दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
“सरकारले अघिल्ला दिनहरुमा पनि यति जनामा नयाँ भेरियन्ट देखियो मात्र भनेर सूचना निकालेको पाइन्छ यसकारण सरकारले एकै व्यक्तिमा दुई भेरियन्टको संक्रमण छ नभनेको हुदाँ, छ नै भन्ने अवस्था रहँदैन तर नमुना संकलन गरेर चेक गरेको खण्डमा पक्कै फेला पर्न सक्छ” उहाँले भन्नुभयो ।
कुनै व्यक्ति दुई भेरियन्टबाट नै सङ्क्रमित भएमा त्यस्ता व्यक्तिहको अवस्था सामान्य नै हुन सक्ने डा. पुनको भनाइ छ । तर कुनै व्यक्तिमा खोप लगाउँदासमेत एन्टिबडी नबनेको अवस्थामा भने बिरामीको अवस्था गम्भिर पनि हुन सक्ने उहाँको भनाइ छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. रुना झाले पनि अहिलेसम्म नेपालमा एकै व्यक्तिमा दुई भेरियन्टले सङ्क्रमण गरेको अवस्था नरहे पनि विभिन्न सङ्क्रमित व्यक्तिहरुमा रहेको भेरियन्टको नमुना परीक्षण गरेको खण्डमा यस्तो भेटिन सक्ने बताउनुभयो । विभिन्न देशहरुमा दोहोरो सङ्क्रमण दर र यसको मृत्युदर हेर्दा शून्यप्रायः पाइएकाले मल्टिपल सङ्क्रमण भएका व्यक्तिहरुको अवस्था सामान्य भेरिन्टको जस्तै हुने उहाँको भनाइ छ ।
यस्तै भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेयले नेपाललाई विदेशी राष्ट्रहरुले जोखिम राष्ट्रको रुपमा लिने गरेका कारण पनि भाइरसको जिन सिक्वेन्सिङमा ध्यान दिनु आवश्यक रहेको बताउनुभएको छ । विदेशी राष्ट्रहरुमा एकै व्यक्तिमा दुईवटा भेरियन्ट देखिएकाले नेपाल आउने कुनै व्यक्तिले अन्य व्यक्तिहलाई सङ्क्रमण सारेको पनि हुनसक्ने भएकाले यसको जोखिम नेपालमा रहेको उहाँको भनाइ छ ।
अरु देशमा जस्तै नेपालले पनि बेलाबेलामा भाइरसहरुले जिन सिक्वेन्सिङ् गरेर भेरियन्टको अवस्थाबारे थाहा पाइराख्नुपर्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?