logo
२०८१ बैशाख ३० आईतवार



सुत्केरी सिंहको मृत्यु भएपछि अस्पतालमा तनाव

स्वास्थ्य |
प्रदेश |


सुत्केरी सिंहको मृत्यु भएपछि अस्पतालमा तनाव


अविनाश चौधरी
धनगढी, असोज १० गते । कैलालीको धनगढीस्थित नवजीवन अस्पताल प्रालिमा सुत्केरीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएपछि आइतबार बिहानैदेखि अस्पताल तनावग्रस्त बनेको हो ।

मृतकका आफन्तले चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका हुन् । अस्पतालसँग आफन्तहरुले मृतकको मेडिकल रिपोर्ट माग गरेका छन् । यसैगरी, मृत्युको कारण खुलाउन माग पनि गरेका छन् ।

अस्पतालले प्रेस विज्ञप्ति प्रकाशित गरी ‘सडेन कार्डियाक आरेस्ट’ भइ सुत्केरीको मृत्यु भएको जनाएको छ । अत्यधिक रक्तस्राव भएको सो बिरामीलाई दुई पोका ए नेगेटिभ रगत दिइ सघन कक्षमा राखेर उपचार गर्दा पनि ज्यान नजोगिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञ टोलीले दिनरात नभनी उपचार गर्दागर्दै पनि बिरामीको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार असोज ९ गते बिहान अस्पताल भर्ना भएकी कल्पनाको राति ११ः४४ बजेतिर बच्चा आउने बाटो पुरै खुलेको थियो । तर, बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर बच्चा तानिएको थियो । सोक्रममा पाठेघरको मुख फराकिलो बनाउन दिएको ‘इपिजियोटोमी÷एक्सटेन्डेड टीयर’ सिलाउने क्रममा अत्यधिक रक्तस्राव भएको विज्ञप्तिमा उल्लेख छ ।

सुत्केरीको अत्यधिक रक्तस्राव हुन थालेपछि अन्य अस्पतालको महिला रोग विशेषज्ञ टोलीको समेत सहयोग लिएर हरसम्भव उपचार गरेको र रगत बगेका सम्भावित सबै ठाउँ सिलाइएको अस्पतालले जनाएको छ । सो क्रममा बिरामीको रक्तचाप कम भइ ‘हाइपोभोलोमिक सक’ भएको र तत्कालै दुई पोका रगत दिइ सघन कक्षमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?