logo
२०८१ बैशाख २१ शुक्रवार



लुम्बिनीको प्रवेशद्वारमै फोहाेरको थुप्रो

स्वास्थ्य |
प्रदेश |


लुम्बिनीको प्रवेशद्वारमै फोहाेरको थुप्रो


लक्ष्मण पौडेल
भैरहवा, असोज ११ गते । आज मुलुकभर विश्व पर्यटन दिवस मनाइँदै छ । पर्यटन दिवसका अवसरमा लुम्बिनी, भैरहवालगायत यस क्षेत्रका विभिन्न ठाउँमा कार्यक्रम भएका छन् । तर पर्यटन दिवस मनाईरहँदा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा भने पर्यटकलाई फोहाेरले गिज्याइरहेको छ ।

विगत एक सातादेखि सिद्धार्थनगरको फोहर उठ्न नसकेको स्थानीयको भनाइ छ । फोहाेर सडकमा यत्रतत्र फैलिएको छ । फोहोरले सिद्धार्थनगर दुर्गन्धित बनेको छ । दिउँसो घाम लागेको समयमा फोहरको दुर्गन्धले हिँड्न नसक्ने अवस्था भइसकेको एक स्थानीयले बताउनुभयो । भैरहवा हुँदै लुम्बिनी तथा अन्य पर्यटकीय क्षेत्र जाने पर्यटकहरुमाझ शहरमा थुप्रिएको फोहोरले नकारात्मक सन्देश जाने संस्कृतिविद गितु गिरीले बताउनुभयो ।

डण्डा नदी छेउँमा फालिएको फोहरका कारण स्थानीयलाई विभिन्नखालका सङ्क्रामक रोग लागेको भन्दै फोहोर फाल्न नदिने बताउँदै आएका छन् । सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीको ओमसतिया गाउँपालिका– ५ पट्खौलीमा खरिद गरेको जग्गामा पनि स्थानीयको अवरोधपछि त्यत्तिकै अलपत्र परेको छ ।

स्थानीय आशिष पन्तले सडकमै फोहोर थुप्रिदा शहर दुर्गन्धित भएको बताउनुभयो । उहाँले पटक पटक नदी किनारमा फोहोर नफाल्न माग गर्दै स्थानीयले अवरोध गरेकाले स्थानीय सरकारले यसतर्फ दीर्घकालीन योजना बनाउनु पर्नेमा जोड दिनुभयो । “डण्डा नदी छेउँमा फोहोर नफाल्न र फोहोरमैला व्यवस्थापनका लागि विगतदेखि नै आवाज उठ्दैआएको छ, नगरपालिकाले यस विषयमा चासो दिनुपर्छ”–उहाँले भन्नुभयो ।

समाजसेवी प्रख्यात बन्जाडेले २०७६ साल चैतको लकडाउनअघि नै नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्न आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाइए पनि नगरपालिकाले यसतर्फ चासो नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकालाई फोहोरमैला प्रशोधन केन्द्र बनाउन समस्या छ भने नजिकका पालिकाहरुसँग समन्वय गरेर एकीकृत फोहोर प्रशोधन केन्द्र बनाउनेतर्फ लाग्नुपर्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?