logo
२०८१ बैशाख १८ मंगलवार



बोनमेरो क्यान्सरबाट पीडीत किशोरीलाई एक लाख रुपियाँ आर्थिक सहयोग

स्वास्थ्य |
प्रदेश |


बोनमेरो क्यान्सरबाट पीडीत किशोरीलाई एक लाख रुपियाँ आर्थिक सहयोग


नारद कोहार
तौलिहवा, असोज १४ गते । कपिलवस्तु नगरपालिकाका– २ सागरटोलकी बोनमेरो क्यान्सरबाट पीडित १९ वर्षीया सबनम पाखियालाई कतार च्यारेटीको सहयोगमा लिडो नामक संस्थाले एक लाख एक हजार रुपियाँ सहयोग गरेको छ । तीन वर्षको उमेरमै बोनमेरो क्यान्सरबाट पीडित हुनुभएकी किशोरी आर्थिक अभावमा उपचारबाट बन्चित हुँदै आउनुभएको थियो ।

सात वर्षअघि नै बुवा गुमाउनुभएकी सबनमका आमा, तीन भाइ र एक बहिनी छन् । उहाँहरु ५ धुर जग्गामा सानो छाप्रो बनाई बस्दै आउनुभएको छ । सबनमलाई टोलछिमेकीले केही आर्थिक सहयोग गरेपछि सामान्य उपचार मात्र पाउनुभएको थियो । बुद्धपद्म उमाबिमा कक्षा १२ मा अध्ययनरत सबनम पढाईमा अब्बल रहनुभएको विद्यालयले जनाएको छ । क्यान्सरको उपचार नपाउँदा जीवन मरणको दोसाँधबाट गुज्रिरहनुभएको उहाँको अभिभावकको भनाई छ ।

सबनमले भन्नुभयो ‘टोल छिमेकीले गरेको आर्थिक सहयोगले सामान्य उपचार मात्र गरेकी छुँ,’ । राम्रो उपचार गराउन धेरै पैसा चाहिने हुनाले उपचार गराउन नसकेको उहाँले बताउनुभयो । उपचार गराउन आमासँग पैसा नभएकाले उपचार गराउन नसकेको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

मिहीनेत मजदुरी गरेर बल्लतल्ल परिवारको गुजारा चलाउँदै आउनुभएको सबनमकी आमा आबिदा छोरीको रोगले आफूलाई चिन्ता दिएको बताउनुभयो । “छोरी पढाईमा राम्रो छिन अघि बढ्न चाहन्छिन् तर बोनमेरो क्यान्सरको उपचार नहुँदा छोरीको सपना अधुरो हुने हो कि ! भन्ने चिन्ता बढेको छ” छोरीको उपचारमा भएको थोरै संम्पत्ति समेत सकिएको उहाँले बताउनुभयो ।

काठमाडौँको सिभिल अस्पतालमा छोरीलाई पटक–पटक लगेपनि रकम अभावले राम्रो उपचार भने हुन नसकेको दुःखेसो पोख्नुभयो । लिडो संस्थाले दिएको सहयोग अहिलेसम्मको सबैभन्दा ठूलो सहयोग रहेको उहाँले बताउनुभयो । यो रकमले काठमाडौँ गएर छोरीको थप उपचार गराउने उहाँले बताउनुभयो । छोरीको उपचारमा सहयोग गरिदिन उहाँले अपील पनि गर्नुभएको छ ।

कपिलवस्तु नगरपालिका २ का वडाअध्यक्ष रामभजन कलवार, लिडोका सचिव मोहरतप्रसाद कुर्मी कोषाध्यक्ष वलीउद्दीन मुसलमानले सो रकम बराबरको चेक किशोरीलाई हस्तान्तरण गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?