logo
२०८१ बैशाख ३१ सोमवार



कैलालीको घोडाघोडी नपामा २२ जना कुपोषित बच्चा

स्वास्थ्य |
प्रदेश |


कैलालीको घोडाघोडी नपामा २२ जना कुपोषित बच्चा
फाइल इन्टरनेट तस्विर


चाँदनी आचार्य
लम्की (कैलाली) असोज १७ गते । घोडाघोडी नगरपालिका ७ कीर्तिपुरकी पार्वती चौधरीले एक वर्षीया छोरी अदितिलाई खोप लगाउन लैजाँदा कुपोषण भएको थाहा पाउनुभयो । एउटा छोरी पहिला नै हुर्काइसकेको बताउने पार्वतीले छोरी दुब्ली भ एपनि कुपोषण भयाे होला भन्ने नलागेको बताउनुभयो ।

‘१५ जनाको परिवार छ, परिवारमा जे पाक्छ बच्चाले पनि त्यही हो खाने हो, दूध, दालभात त खुवाएकै छु तर खै कसरी कुपोषित भयो ? पार्वतीले चिन्ता व्यक्त गर्नुभयो ।

घोडाघोडी नगरपालिका ८ कल्जुगीका १ बर्षीया कल्पना विकलाई समेत यही साउन पहिलो साता कुपोषण देखियो । कल्पनाभन्दा अगाडि दुई सन्तान रहेको बताउने कल्पनाको हजुरआमाले अगाडि जन्मिएका दुई छोराछोरीलाई नभएको कुपोषण भयो भन्दा आफूलाई पत्याउन गाह्राे भएको बताउनुभयो ।

त्यस्तै घोडाघोडी ४ गणेशपुरका जयलाल चौधरीलाई समेत पहिलो सन्तानको रुपमा रहेका एक बर्षीय छोरा जितेन चौधरीलाई कुपोषण छ भन्दा पत्यार लागेन । गत भदौमा छोराको नाप लिँदा स्वास्थ्यकर्मीले कुपोषण छ भनेपछि दैनिक लिटो खुवाउँदैआएको जयलालले बताउनुभयो । अदिति, कल्पना र जितेनलाई कडाखालको कुपोषण देखिएको छ । उनीहरुको अहिले ओटिसी माध्यमबाट उपचार भैरहेको नगरपालिका स्वास्थ्यशाखाले जनाएको छ ।

घोडाघोडी नगरपालिकामा चालु आर्थिक वर्ष शुरु भएयता २२ जना कुपोषणका बच्चाहरुको उपचार भइरहेको जनाइएको छ । दरख स्वास्थ्य चौकी पोषण कार्यक्रमका संयोजक भुवन पाण्डेले नगरपालिकाभित्रका २२ जना बच्चामध्ये ९ जना कडा कुपोषणका बच्चा रहेकोे बताउनुभयो ।

संयोजक पाण्डेले २ वर्षमुनिका बच्चाहरुको तौल र पाखुराको नाप लिँदा कुपोषण भएको थाहा हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘खोपकार्ड अनुसार बच्चाको पाखुराको नाप लिँदा टेपमा रातो पहेंलो हरियो रङ हुन्छ, बच्चाको पाखुराको नाप लिदा रातोमा पुग्नु कडा खालको, पहेँलो नापले मध्यम खालको जनाउँछ भने हरियोले सामान्य भएको जनाउँछ ।’

कुपोषित बच्चाहरुलाई ओटिसी (पोषण) माध्यमबाट उपचार भइरहेकोछ । कडा खालको कुपोषित बच्चाहरुलाई (दुई प्याकेट) करिब २०० ग्राम लिटो दैनिक खुवाउने र मध्यम खालका कुपोषित बच्चाहरुलाई दैनिक एक प्याकेट लिटो खुवाएर उपचार गराउने व्यवस्था गरेको नपाले जनाएको छ ।

पौष्टिक आहार र हेरचाहको कमीले बच्चाहरुमा कुपोषण देखिएको बताउँदै संयोजक पाण्डेले कोभिडका कारण गएका दुई वर्षमा नगरपालिकामा कुपोषित बच्चाहरुको नाप, तौल नलिए पनि पछिल्लो समय सङ्ख्या बढ्दैगएको बताउनुभयो । कडा कुपोषित बच्चाहरुको नियमित परीक्षणको व्यवस्थासँगै बढी हुदै गएमा थप उपचारका लागि धनगढी पठाउने गरेको उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?