logo
२०८१ कार्तिक २३ शुक्रवार



‘अस्पतालको सेवा गुणस्तरीय हुनुपर्छ’

स्वास्थ्य |
राष्ट्रिय |


‘अस्पतालको सेवा गुणस्तरीय हुनुपर्छ’


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालले दिने स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्ने बताउनुभएको छ ।
भक्तपुरमा रहेका तीन सरकारी अस्पतालको सोमबार निरीक्षणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले क्यान्सर अस्पतालको सेवा विस्तार तथा आवश्यक उपकरण खरिदका लागि सहयोग गर्ने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले उपलब्ध भएका स्रोत, साधन र पूर्वाधारलाई सक्दो उपयोग गरेर काम गर्नसमेत अस्पतालका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो ।
राज्यमन्त्री श्रेष्ठले भक्तपुरमा रहेका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण गर्नुभयो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले अस्पतालको सेवा विस्तार गर्नुपर्ने बताउनुभयो ।
डायलासिसका लागि भक्तपुर नै आउनुपर्ने बाध्यता हटाउन सहरका मुख्य–मुख्य भागमा डायलासिस सेन्टर खोल्ने व्यवस्था गर्न पनि उहाँले निर्देशन दिनुभयो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुरकारचन्द्र श्रेष्ठले प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न तत्कालका लागि स्थान अभाव रहेको बताउनुभयो ।

एम्बुलेन्स हस्तान्तरण
यसैबीच नेपाललाई जापानले छवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ती एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा जापान सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्नेमा जोड दिनुभयो । नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स नेपाललाई सहयोग गरेको जानकारी दिँदै नेपालमा जापानले जुनसुकै क्षेत्रमा पनि सहयोग गरिरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?