logo
२०८१ जेष्ठ ८ मंगलवार



कृष्णनगरमा हैजा फैलिएको आशङ्का, रातभर दोब्बर बिरामी थपिए 

स्वास्थ्य |
प्रदेश |


कृष्णनगरमा हैजा फैलिएको आशङ्का, रातभर दोब्बर बिरामी थपिए 
शिवराज अस्पतालमा ठाउँ नपुगेपछि अस्पताल बाहिर उपचार गराउँदै, तस्बिर –जानु पाण्डे



जानु पाण्डे
कपिलवस्तु, असोज २० गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशङ्का गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामीको लक्षण र सङ्क्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशंका गरेका छन् । रोगको पुष्टि गर्नका लागि केही विरामीको दिसाको नमुना सङ्कलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । नमुनाको नतिजा आउन कम्तीमा ४८ घण्टा लाग्ने अनुमान गरिएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि बारामी हुनेको दर बढ्दो रहेको छ । मङ्गलबार राति जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार १२० जना झाडाबान्ताको विरामी रहेका थिए । बुधवार बिहान १० बजे बिरामीको सङ्ख्या २४० नाघेको कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । बिरामी थपिएपछि शिवराज अस्पताल बहादुरगन्जमा एउटै बेडमा तीनजना राखेर उपचार गर्ने बाध्यता रहेको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताउनुभयो । भर्ना भएकामध्ये ३५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र तौलिहवा अस्पतालमा रेफर गरिएको छ ।

बिरामीको सङ्ख्या बढ्दै गएपछि लुम्बिनी प्रादेशिक अस्पतालबाट दुई जना र कपिलवस्तु अस्पतालबाट चार जना थप चिकित्सक खटाइएको छ । प्रादेशिक अस्पतालका डा. विशाल भट्टराई र डा. जीवन थापाले मङ्गलबार राति देखि उपचारमा खटिनुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटा र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरी प्रभावित क्षेत्रको निरीक्षणमा आउनुभएको छ । बिरामी हुनेको नरोकिएपछि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले सहयोगको लागि अपिल समेत गर्नुभएको छ ।

विरामीको सङ्ख्या यकिन छैन
बुधवार विहान २४० भन्दा बढी बिरामी भएको बताइएको छ । यो तथ्याङ्क शिवराज अस्पताल र घरमा पुगी जाँच गर्नेको मात्र रहेको हो । पालिकाभर जम्मा प्रभावितको सङ्ख्या यकिन हुन सकेको छैन । नगरपालिकाको वडा नं. ७, ८ र ९ का सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरालगायतका बस्तीमा रोग फैलिएको छ । प्रभावित क्षेत्रमा विरामीहरु आफूलाई पायक पर्ने ठाउँमा उपचार गराउँदै आएका छन् ।

पालिकाका निजी क्लिनिकमा समेत बिरामी भर्ना गरी उपचार गराउँदै आएका छन् । जसको तथ्याङ्क पालिकासँग आउन सकेको छैन । यसैगरी शिवराज अस्पतालमा बिरामीको चाप बढेपछि अस्पतालको गल्ली, बरन्डा र रोग नियन्त्रणमा आएका बिरामीलाई अस्पताल नजिक रहेको राम गोरखा माविमा उपचार गरिएको छ । पालिका भरी रोग प्रभावितको सङ्ख्या बुधवार साँझ सम्म अपडेट हुने नगरपालिका स्वास्थ्य शाखा प्रमुख शङ्कर भट्टराइले बताउनु भयो ।

पैसा नभएको कारणले उपचार गराउन लगेनन् 
रोग फैलिँदा नगरपालिकाको वडा नं. ८ बहादुरगञ्जका दुई जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा वर्ष ४५ का राम प्रसाद केवट र वर्ष ८ का राज कश्यप छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?