logo
२०८१ जेष्ठ ८ मंगलवार



भारतबाट फर्किएकालाई जमुनाह सीमानाकामै खोप

स्वास्थ्य |
प्रदेश |


भारतबाट फर्किएकालाई जमुनाह सीमानाकामै खोप


सिराज खान
नेपालगञ्ज, असोज २२ गते । रोजगारीका लागि भारतबाट फर्किएका नेपालीलाई नेपाल–भारतको जमुनाह नाकामा खोप लगाउन सुरु गरिएको छ । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा बसेर चाडपर्व मनाउन घर फर्किरहेका नेपालीलाई नाकामै खोप लगाएर भित्र्याउन थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

भारतका मुम्बई, सिमला, जयपुर र अहमदाबादजस्ता ठूला सहरमा बसेर फर्किरहेका नेपालीलाई खोप लगाएर मात्रै प्रवेश गराउन थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

फर्किनेमध्ये धेरैले भारतमै खोप लगाइसकेको पाइएको जनाउँदै नलगाएकाहरुलाई खोप लगाएर मात्र भित्रिने अनुमति दिइएको बताउनुभयो । नाकामा स्वास्थ्य परीक्षण गरिरहेकोमा शुक्रवारदेखि खोप नलगाएकाहरुलाई नाकामै खोप लगाएर घर पठाउने गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

कार्यालयका प्रमुख धिरजंग शाहकाअनुसार कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने उद्देश्यले नाकामै परदेशीलाई खोप लगाउन सुरु गरिएको हो । बिहानदेखि हालसम्म १२० जनालाई भेरोसेल खोप लगाइएको र खोप लगाउने कार्य जारी रहेको प्रमुख शाहले बताउनुभयो ।

यस्तै, नाकामा कोभिड पहिचानका लागि एन्टिजेन विधिबाट चेकजाँच गर्ने काम पनि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जमुनाहस्थित हेल्थ डेस्ककाअनुसार हालसम्म जमुनाह नाकामा भारतबाट आउने ३६ हजारभन्दा बढी नोपलीको एन्टिजेनबाट कोरोना परीक्षण गरिसकिएको र तीमध्ये ३८३ जनामा कोरोना संक्रमण पुष्टिभ एको बताउनुभयो ।

संक्रमित भएकामध्ये ९ जना सिकिस्त रहेकाले मध्यमखालका बिरामी २६ जनाको भेरी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?