मानोजरत्न शाही/केशब गुरूङ्ग
काठमाडौं,असोज २२ गते । बडादशैंमा रातो टीकासँगै पहेँलो जमरा लागाउने प्रचलन छ । घटस्थापनाका दिन सबैले घरघरमा प्रकाश नपर्ने ठाउँमा जौ, मकै छर्ने चलन छ । यसरी उम्रिएको टुसा नौ दिनपछि दशैंको दिन जमराका रुपमा लगाईन्छ ।
जमराको धार्मिक मान्यताका साथै यसको पोषण र औषधीय महत्व पनि रहेको नरदेवी आयुर्वेदिक अस्पतालका डा.महारुद्रकुमार ठाकुरले बताउनुभयो ।
जमरामा शरीरका लागि अति आवश्यक भिटामिन ए, बी, सी र ई पाइनुका साथै म्याग्नेसियम, आइरनजस्ता तत्वहरु पनि पाईने भएकाले यो बहुउपयोगी वस्तु रहेको उहाँको भनाइ छ ।
जमरालाई जुसको रुपमा प्रयोग गर्दा यसले पाचन प्रक्रियामा पनि सहयोग गर्दछ । यसमा पाईन फाइबरले कोलेष्ट्रोलको मात्रा कम गर्न मद्दत गर्दछ जसका कारण उच्च रक्तचापको समस्या अन्त्य गर्नुका साथै मुटुरोगको समस्या र मधुमेहको समस्या पनि कम गर्ने ठाकुरले बताउनुभयो ।
सामान्य व्यक्तिले जमरालाई पिनेर झोल बनाएर दिनको दुई चम्चा खाँदा उपयुक्त हुने उहाँले बताउनुभयो । जमरा बहुगुणी, बहुउपयोगी बस्तु भएकाले अन्य समयमा पनि जमरा बनाएर प्रयोग गर्न उहाँको सुझाव छ ।
जमरा दुर्गा देवीलाई मन पर्ने भएका कारणले पनि दशैंमा जमराको प्रयोग गर्ने गरिएको उहाँको भनाई छ । तर, जमरा स्वास्थ्यको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको डा. ठाकुर बताउनुहुन्छ ।