लक्ष्मण पौडेल
भैरहवा, कात्तिक १२ गते । भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । दुई करोड ६० लाख रुपियाँ लगानीमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो । प्रतिदिन दुई सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता रहेको छ ।
अक्सिजन प्लान्ट उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले कोरोना महामारीमा आवश्यक अक्सिजन उत्पादन हुन नसक्दा नागरिकस्तरबाटै अक्सिजन प्लान्ट स्थापना हुन थालेको बताउनुभयो ।
स्थानीय तहहबाट जनताको दबाबमा आवश्यकताअनुसार आफै प्लान्ट स्थापना गर्छौं भन्ने स्तरसम्म छलफल चलेको उहाँले बताउनुभयो । मन्त्री थारुले कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसका निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्ने बताउनुभयो । “सम्भावित तेस्रो लहरसँग जुध्न अक्सिजन प्लान्ट महत्वपूर्ण बन्नेछ, यसलाई सफलतापूर्वक सञ्चालन गर्नुपर्छ” उहाँले भन्नुभयो ।
“पुरानो अस्पतालको रुपमा रहेको भीम अस्पतालको विकासका निम्ति यहाँका जनताले सुरुदेखि नै साथ दिएकाले विकासमा योगदान पुगेको छ”–मन्त्री थारुले भन्नुभयो । लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा देशैभरीको उत्तम स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने प्रदेशको रुपमा विकास गर्न खोजिएको उहाँले बताउनुभयो ।
५० शैयाको अस्पतालका लागि जनशक्तिको निकै अभाव भएकाले प्रदेश लोकसेवा आयोगमार्फत सरकार अभावको पूर्तिगर्न लागेको उहाँले बताउनुभयो । अर्थतन्त्रको विकासको पहिलो खम्बा स्वास्थ्य क्षेत्र भएको उहाँको भनाइ छ । कोभिड–१९ महामारीमा भीम अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले अक्सिजन प्लान्ट स्थापना हुनु यस क्षेत्रका नागरिकका लागि खुशीको कुरा भएको बताउनुभयो । उहाँले कोभिड–१९ को दोस्रो महामारीमा धेरै नागरिकले ज्यान गुमाउनुपरेकाले यसबाट बच्न सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
भीम अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले रुपन्देही जिल्लाको नमुना अस्पतालको रुपमा अघि बढाउने उद्देश्यसहित कार्य भइरहेको बताउनुभयो । उहाँले अस्पतालमा १७ करोड रुपियाँ लगानीमा अत्याधुनिक प्रसूति गृह, बिरामी कुरुवाका लागि ५० सिटको प्रतीक्षालयसहित विभिन्न कार्यक्रम सञ्चालन गरी अस्पतालको स्तरोन्नतिमा लागेको बताउनुभयो । अध्यक्ष भण्डारीले जनशक्ति, स्रोतसाधन र भौतिक संरचनाको अभाव रहेकोले यसलाई व्यवस्थित गर्दै अगाडि बढेको बताउनुभयो । अस्पतालले भैरहवा मात्र नभई नवलपरासी र कपिलवस्तुका नागरिकलाई पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको उहाँको दाबी छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अस्पतालमा केही बहिरङ्ग सेवा थप गरिएको बताउनुभयो । डा. गुप्ताले कोभिड–१९ महामारीमा क्षमताभन्दा बढी बिरामीको उपचार भइरहेको बताउनुभयो । अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।