logo
२०८१ मंसिर ११ मंगलवार



ग्रामीण भेगमा स्वास्थ्य शिविर, ४१ जना भेटिए पाठेघर शल्यक्रिया गर्नुपर्ने महिला

स्वास्थ्य |
प्रदेश |
समाज |


ग्रामीण भेगमा स्वास्थ्य शिविर, ४१ जना भेटिए पाठेघर शल्यक्रिया  गर्नुपर्ने महिला



भोटराज राई
उदयपुर, कार्तिक १४ गते । ग्रामीण भेगमा पाठेघर खस्ने महिलाको एक जटिल स्वास्थ्यलाई मध्यनजर गर्दै लिम्चुङबुुङ गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य घुम्ती शिविर पालिकाका महिलाको लागि लाभदायक बन्न पुगेको छ ।
पालिकाको महिला विकास शाखाकी प्रमुख सुशिला सुब्बाका अनुसार शिविरबाट जटिल प्रकृतिको पाठेघर खस्ने समस्या भएका ४१ जना महिला भेटिएका छन् । उनीहरुको समस्या तेस्रो डिग्रीसम्म पुगेको पाइएकाले अप्रेशन गर्नुपर्ने भएको छ । उनीहरुलाई जिल्ला अस्पतालसँग समन्वय गरी निःशुल्करुपमै अप्रेशनको ब्यवस्था पालिकाले मिलाउने भएको छ ।
पालिकाले आप्mनै ठाउँमा सेवा दिने उद्देश्यले “महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोगहरु तथा पाठेघरको क्यान्सरसम्बन्धी ५ दिने स्वास्थ्य शिविर” वडा नं. २ ताम्लिछामा सञ्चालन गरेको थियो । यही ९ गते वडा नं. ३ बराहाबाट उद्घाटन भएरु सुरु भएको शिविर १३ गते वडा नं. २ ताम्लिछाबाट सम्पन्न भएको हो । शिविरको उद्घाटन् पछि वडावडामै पुगेर महिलालाई स्वास्थ्य सेवा प्रदान गरिएको पूर्व स्वास्थ्यकर्मीसमेत रहेकी पालिका उपाध्यक्ष रमिला राईले बताउनुभयो । भौगोलिक विकटतालाई मध्यनजर गर्दै पालिकाले वडावडामै घुम्ती शिविर राखिएको उहाँले बताउनुभयो ।
शिविरमा वडा नं. १ बाँसबोटेका ६८, वडा नं. २ ताम्लिछाका ४८, वडा नं. ३ बराहाका २९, वडा नं. ४ बलम्ताका ४७ र वडा नं. ५ जाँतेका ५३ जना महिलाले स्वास्थ्य जाँच गराएको स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताउनुभयो ।
लिम्चुङबुङ गाउँपालिका महिला विकास शाखाको आयोजना तथा ओरेक उदयपुरको सहकार्य रहेको शिविरमा जिल्ला अस्पतालका स्टाफनर्श छवित्रा राई, पालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी सेवामा खटिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?