गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २४ गते । कुकुरलगायत जङ्गली जनावरको टोकाइका घटनामा रेबिजविरुद्ध लगाइने भ्याक्सिन र ‘इम्युनोग्लोबुलि न’ लाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।
सोहीअनुसार काठमाडौँको टेकु अस्पतालमा मात्र लगाइँदै आएको ‘इम्युनोग्लोबुलिन’ सातै प्रदेशका नौ अस्पतालमा लगाइने भएको छ । सोका लागि नौ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आयोजित दुई दिने अभिमुखीकरण मङ्गलबार समापन भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्तचन्द्र ओझाका अनुसार, कुकुरलगायत जङ्गली जनावरको टोकाइको अवस्था हेरेर जटिल खालको टोकाइमा ‘इम्युनोग्लोबुलिन’ प्रभावकारी मानिन्छ । कुकुरलगायत जनावरको टोकाइपछि रेबिजको उपचारका तीन अवस्था हुन्छन् ।
डा. ओझाका अनुसार टोकाइका घटनामा सबैभन्दा पहिला साबुन पानीले १०/१५ मिनेट धुने । त्यसपछि जतिसक्दो चाँडो रेबिजविरुद्धको म्याक्सिन लगाउने र तेस्रोचाहिँ ‘इम्युनोग्लोबुलिन’ को सुई चढाउने । तर ‘इम्युनोग्लोबुलिन’ चाहिँ टोकाइको अवस्था हेरेर टोकेको ठाउँमा नै लगाइन्छ । ‘इम्युनोग्लोबुलिन’ लगाउनुपर्ने वा नपर्ने अवस्था छ भन्नेचाहिँ चिकित्सकले नै निर्णयले लिने डा. ओझाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, नेपालमा बर्सेनि ५० हजारभन्दा बढीका टोकाइका घटना अस्पतालमा रेकर्ड हुने गरेका छन् । काठमाडौँको टेकु अस्पतालमा मात्र लगाइँदै आएको ‘इम्युनोग्लोबुलिन’ अब सातै प्रदेशका नौ अस्पतालमा लगाइँदै छ ।
नौ अस्पतालबाट चिकित्सक तथा स्वास्थ्यकर्मी गरी चार जनाका दरले अभिमुखीकरणमा ३६ जनाको सहभागिता रहेको थियो ।
उहाँहरूलाई सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा प्रशिक्षित गरिएको महाशाखाका पशुचिकित्सक डा. रोशिका श्रेष्ठले जानकारी दिनुभयो ।
यो अभिमुखीकरण कार्यक्रमपछि सातै प्रदेशका अस्पतालमा ‘इम्युनोग्लोबुलिन’ लगाउने सुविधा प्राप्त हुने जनाइएको छ । डा. रोशिका श्रेष्ठका अनुसार रेबिजविरुद्धको भ्याक्सिनले शरीरमा रेबिजविरुद्धको एन्टिबडी निर्माण गर्न मद्दत गर्छ भने ‘इम्युनोग्लोबुलिन’ले डाइरेक्ट एन्जिबडी उपलब्ध गराउने काम गर्छ ।
अब सो सेवा कोसी अस्पताल, नारायणी अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, जनकपुर अस्पताल, लुम्बिनी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल, सेती प्रादेशिक अस्पतालबाट दिइने छ ।